मनहरी कपको सेमिफाइनल पुगे नमोबुद्ध र परेली
हेटौंडा- नमोबुद्ध क्लव पदमपोखरी र परेली क्लव बस्तिपुरले दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविको खेलमैदानमा बुधबार भएको पहिलो क्वाटरफाइनलमा नमोबुद्धले एफसी ढेंडोलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ११ औं मिनेटमा आकाश रानाको गोलमार्फत् नमोबुद्धले खेलमा अग्रता लिएको थियो ।
४२ औं मिनेटमा सामुयल सुनारले फ्रीकिकमार्फत् सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । ढेंडो एफसीका अस्मित दुराले ५५ औं मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । नमोबुद्धमा सामुयल सुनार नै खेलको म्यान अफ द म्याच घोषित भए ।दोस्रो खेलमा एफसी परेलीले जनसिद्ध युवा क्लवलाई २–० ले हराउँदै सेमिफाइनल भिडन्त पक्का गर्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको परेलीले दोस्रो हाफमा २ गोल थपेको हो । दोस्रो हाफको छैठौं मिनेटमा समीप ढकालको गोलमार्फत् परेलीले अग्रला लिएको थियो ।
त्यसको दुई मिनेटमै प्रिफ स्याङ्तानले अग्रता दोब्बर बनाए । जनसिद्धले गोलगर्ने केही राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेन । खेलको म्यान अफ द म्याच परेलीका सलिल ढकाल घोषित भए ।प्रतियोगितामा बिहीवार पहिलो खेल मनहरी–५ र मनहरी–२ को बीचमा हुनेछ भने दोस्रो खेल पदमपोखरी युनाइटेड र मकवानपुरगढी जेसीजको बीचमा हुनेछ । यही मंसिर ३ गतेसम्म सन्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँचसय तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।चैनपुर जेसीज मनहरीको आयोजना तथा मकवानपुर गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सन्चालन भएको हो ।