न्यौपानेले जिते जेसीज दौडको उपाधि
हेटौंडा- चैनपुर जेसीज मनहरीको जेसीज सप्ताहअन्तर्गत शनिबार भएको जेसीज दौड प्रतियोगिताको उपाधि दीपेन्द्र न्यौपानेले जितेका छन् ।१८ सहभागीलाई उछिन्दै न्यौपानेले उपाधि जितेका हुन् । दौडमा अनिष प्रजा दोस्रो, विजय स्याङ्बो तेस्रो र अजित मोक्तान सान्त्वना भए । दौडको विजेतालाई मंसिर ३ गते हुने जेसीज सप्ताह तथा फुटबल प्रतियोगिताको समापनमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक राजकुमार तिमल्सिनाको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । थापाले जेसीजले मनहरी क्षेत्रमा खेलकुद, सचेतनामुलक कार्यक्रमसहित विभिन्न गतिविधि गरिरहेकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताए ।
मनहरी–४ कै मुख्य प्रायोजनमा गोलघर खेलमैदानमा खुला फुटबल प्रतियोगिता भइरहेको छ । कार्यक्रममा लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रघुनाथ खतिवडा, जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पशुपतिनाथ माविका शिक्षक ईश्वर रिजाल, नवज्योति प्राविका शिक्षक नवीन रेग्मी लगायतको आतिथ्यता रहेको थियो । जेसीजले फुटबलसँगै जेसीज सप्ताह आयोजना गरिरहेको छ ।