हेटौंडा–१२ को वडा अध्यक्षमा कांग्रेसका तिवारी विजयी

साझाकुरा
२०८१ मंसिर १७, सोमबार ११:५०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारीले जीत हात पारेका छन् ।आज सोमबार बिहान सवा ३ बजे सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार तिवारीले २०६३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । तेस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचन लडेका तिवारीले नेकपा माओवादी केन्द्रका रवि प्रधानलाई ५०३ मतान्तरले पराजित गरे । रविले १५६० मत प्राप्त गरे । चुनावी प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका राजेश नगरकोटीले १३९८ मात्रै मत ल्याएका छन् ।

तिवारी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि १२ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेद्वार थिए । उनी दुवै पटक दोस्रो भएका थिए । दुवै पटक नेकपा माओवादी केन्द्रका ललित घलानले वडा अध्यक्षमा जित हासिल गरेका थिए । गत ३० वैशाख ०७९ को निर्वाचनमा वडाध्यक्ष जितेर पनि जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख हुन गएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । एमालेका नगरकोटी गत निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । गत निर्वाचनमा नगरकोटी तेस्रो भएका थिए ।

गत निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । उपनिर्वाचनबाट माओवादी केन्द्रलाई गुमेको वडा फर्काउने चुनौती थियो भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको थियो ।यसैगरी, १२ नम्बर वडाको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बलले ८३ मत ल्याएका छन् । नेकपा (एकीकृत समाजवादीका) का बलराम बलले ७३ मत पाए ।

आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा ६८ दसमलव ८ प्रतिशत मत खसेको छ । ४४२८ मतदाता रहेका सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १६३६, पुरुष १३७२ अल्पसंख्यक १ र खामबन्दी ३ गरी जम्मा ३०१२ मत खसेको थियो ।३६२५ मतदाता रहेका भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १२९१ पुरुष ११८३ गरी २४६४ मत खसेको छ । दुवै केन्द्रमा ५ हजार ४८४ मत खसेको हो । जम्मा ८ हजार ५३ मतदाता रहेको हेटौंडा–१२ मा कूलमतको ६८.१२ प्रतिशत मतदान भएको हो । दुबै मतदान केन्द्रमा साँझ ५ बजेसम्म मतदान सकिएपछि मतपेटिका हेटौंडा–२ स्थित सिद्धार्थ माविमा ल्याएको थियो ।सुरक्षाको दृष्टिले हेटौंडा–२ मा मतपेटिका ल्याएर मतगणना सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । वडाध्यक्षको चुनावीदौडमा १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावीमैदानमा थिए ।

प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाका अनुसार २०७९ मा भएको निर्वाचनपछि १२ नम्बर वडामा कुल ८ हजार ५३ मतदाता कायम गरिएको थियो । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ६ हजार ४ सय ६५ मतदाता थिए । १२ नम्बर वडालाई शनिवार मध्यरातिबाट शिल गरेर निर्वाचन गराइएको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट यो वडामा माओवादी केन्द्रबाट घलानले वडाअध्यक्ष जित्दा ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका थिए ।

यसैगरी, आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान भएको थियो । उपनिर्वाचनबाट दुई जिल्ला समन्वय समिति प्रमुख, एक–एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो । मतदानका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र कायम गरिएको थियो । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदातामध्ये पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जनारहेका थिए । कतपय निर्वाचनको नतिजा आइसकेको छ भने कतै मतगणना हुन बाँकी छ । कतिपय ठाउँमा सोमबारबाट मात्रै मतगणना गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*