हेटौंडाका रिजनले एकै ओभरमा ३ विकेट लिए, चितवनसँग पोखराको ठूलो हार

एनपीएल क्रिकेट
साझाकुरा
२०८१ मंसिर १९, बुधबार ११:१३

हेटौंडा- त्रिवि क्रिकेटमैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका खेलाडी हेटौंडाका रिजन ढकालले एकै ओभरमा तीन विकेट लिएका छन् ।दायाँहाते तीव्र बलर ढकालले एकओभरमा तीन विकेट लिएसँगै चितवन राइनोजले पोखरा एभेन्जर्सलाई सस्तैमा समेट्न सकेको छ । ढकाल जस्तै चितवनका सोहेल तनवीरले पनि एक ओभरमा तीन विकेट लिएका थिए । ढकाल र तनवीरले आफ्नो एकै ओभरमा ३–३ विकेट लिएपछि चितवन राइनोजले लगातार दोस्रो विजय हात पारेको छ । १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई १३.२ ओभरमा ७४ रनमा समेट्दै चितवनले ८७ रनको विजय हात पारेको थियो ।

तनवीरले इनिङ्सको पहिलो ओभरमै ३ विकेट लिए । उनले पहिलो बलमै कुशल भूर्तेललाई आउट गरेका थिए । काठमाण्डु गुर्खाजविरुद्धको अघिल्लो खेलमा ५ विकेट लिएका तनवीरले मंगलबार पहिलो ओभरमा दिलिपनाथ (४) र बास डे लिग (०) लाई आउट गरेका थिए । रिजनले चौथो ओभरमा ओपनर दिनेश खरेल (१) सहित किरण ठगुन्ना (१) र माइकल लिस्कलाई शून्यमा एलबीडब्लु आउट गरेका थिए ।

त्यसपछि पोखराको ७ रनमा हुँदा ६ र १७ रनमा हुँदा ७ विकेट गुमाएको थियो । लुक बेन्केनस्टेनले पनि ३ विकेट लिए । उनले रेयमन राइफरलाई १ रनमा, मार्कुस क्रिच्लेलाई १७ रनमा आउट गरे । क्रिच्लेले १६ बल खेली २ चौका प्रहार गरे । नारायण जोशीले पोखराबाट सर्वाधिक ३० रन बनाए । २४ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । बेन्केनस्टेनले उनलाई आफ्नो तेस्रो सिकार बनाए । विपिन खत्रीलाई ९ रनमा दीपक बोहराले बोल्ड गरे ।

यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो । भेट्रान इंग्लिस ब्याटर रवि बोपाराले चितवनबाट सर्वाधिक ५१ रन बनाएका थिए । उनले ३८ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटमा ६८ रनको साझेदारी गरे । कुशलले २३ बल खेली १ चौका र ४ छक्का प्रहार गरी ३८ रन बनाए ।

ओपनर दीपक बोहरा २ र हसन एइसाखिलले १० बलमा १४ रन बनाए । लुक बेन्केनस्टेनले १६, सन्तोष कार्की ११, सोहेल तनवीर शून्यमा आउट भए । शरद भेषावकर १२ बलमा ११ र इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका अमरसिंह राउटेला ६ बलमा १३ रन बनाई अविजित रहे । पोखराबाट विपिन खत्री, बास डे लिड र रेयमन राइफरले २–२ तथा सागर ढकालले १ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*