सामुदायिक विद्यालयको गुणस्तर सुधार जरुरी
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न जरुरी रहेको बताएका छन् । सामुदायिक विद्यालयलाई तीन तहको सरकारको सहयोग रहँदा पनि शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर हुनु विडम्बना रहेको उनले बताए ।हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयको शुक्रबार भएको ३२ औं अभिभावक भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्छ भन्ने मान्यता प्रदेश सरकारको रहेको उल्लेख गरे । मुख्यमन्त्री लामाले परम्परागत शैक्षिकप्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिए । प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उनले बताए । रोजगारमूलक शिक्षा प्रदान गरी दक्षजनशक्ति उत्पादनमा लाग्नुपर्ने उनको भनाई थियो ।
एक वर्षअघि विद्यालयमा अक्षयकोष स्थापनाका लागि विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले आफ्नो छोराको जन्मदिनको अवसरमा ११ हजार एकसय ११ रुपैयाँ सहयोग गरेर सुरु गरेको अक्षयकोषमा हालसम्म ४ लाख ५० हजार रुपैयाँ पुगेको छ । अक्षयकोषका लागि विद्यालयका सहायक प्रधानाध्यापक डीबी बर्तौलाले १० हजार रुपैयाँ जम्मा गरेका थिए । विद्यालयले सुरु गरेको अक्षयकोष अभियानलाई निरन्तरता दिन विद्यालयले अक्षयकोष संचालन कार्यबिधि बनाएको बताइएको छ ।विद्यालयका पूर्वप्रधानाध्यापक रामकुमार बर्तौलाले एक लाख २५ हजार ५ सय रुपैयाँ, यसअघिको बिब्यस सदस्य जानकी गिरीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र शिक्षक भक्तिदेबी सुबेदीले एक लाख ५ रुपैयाँ सहयोग गरेका छन् ।
बर्तौला, गिरी र सुवेदीलगायतलाई भेलामा मुख्यमन्त्री लामाले सम्मान गरेका थिए । हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेले आगामी वर्षको बजेटमा विद्यालयको अक्षयकोषका लागि वडाको तर्फबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा भेलामा गरेका छन् ।विद्यालयमा अध्ययन गर्ने बालबालिकाको अभिभावकको आर्थिक अवस्था कमजोर भएका कारण पनि विद्यार्थीको नियमित अध्ययनमा समस्या रहेको विद्यालयले जनाएको छ । विद्यालयसँग रहेको २४ धुर जमीनमा भवन निर्माण गर्न सकेको खण्डमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पनि पठनपाठन गर्ने योजना रहेको विद्यालकी प्रअ उप्रेतीले बताएकी छन् । अंग्रेजी माध्यम र नेपाली माध्यम दुबै कक्षा संचालन गर्नुपर्ने बाध्यता छ तर, कक्षाकोठाको अभावका कारण अगाडि बढ्न नसकेको उनले बताइन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमाकान्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक मालती उप्रेतीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विषयगत शिक्षक, उत्कृष्ट अभिभावक र विद्यार्थीलाई सम्मान गरिएको थियो । २०३५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ६ सय ४९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय ब्यवस्थापन समितिका सदस्य चयन पनि शुक्रबार नै सकिएको छ । भेलामा सर्बसम्मत रुपमा अभिभावकहरु धनबहादुर तामाङ, बसन्त अर्याल, बिमला थापा, शर्मिला अधिकारी चयन भएका छन् । आइतबार बस्ने समितिको बैठकले दुईजना मनोनित गरेपछि समितिले पूर्णता पाउने विद्यालयकी प्रधानाध्यापक उप्रेतीले जानकारी दिइन् ।