नेपाली कांग्रेसको कैलाशमा प्रशिक्षण

साझाकुरा
२०८१ मंसिर २३, आईतवार १२:००

हेटौंडा- नेपाली कांग्रेसले कैलाश गाउँपालिकाको ४ वटा वडाको पार्टीका क्रियाशील सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ ।कांग्रेस कैलाश–६ को आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश–६ को पकनीमा शनिबार कैलाश १, २, ५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो । कांग्रेस कैलाश–६ का वडासभापति कृष्णबहादुर मोक्तानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेशसभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्लासभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला प्रवक्ता अर्जुन चौलागाईंलगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, कांग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताको परिचय, राष्ट्रियता, लोकतन्त्र र समाजवाद, कांग्रेसको सदस्यता, आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत पार्टीको नीतिनियमबारे प्रशिक्षण दिइएको थियोे । प्रशिक्षणमा बोल्दै प्रमुखअतिथि बानियाँले जनप्रतिनिधि पार्टी र जनताको प्रतिनिधि भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निस्वार्थरुपमा काम गर्नुपर्ने बताउँदै जनप्रतिनिधिमा निर्वाचित गराउनका लागि पार्टीका हजारौँ कार्यकर्ताले पसिना बगाएको कुरा पदमा रहेकाहरुले भुल्न नहुने बताए ।

नेता बानियाँले जनप्रतिनिधिले पार्टीसँग सल्लाह नगरी काम गर्दा जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध बिग्रिंदा पार्टीको संगठन विस्तारमा समस्या हुने भएकाले जनप्रतिनिधि र पार्टीबीच समन्वय र सल्लाह गरेर अघि बढ्न निर्देशन दिएका छन् । कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ का संघीय सभापति लोक मोक्तान, महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनिधि रत्नबहादुर गोले, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, कोषाध्यक्ष एन्जिला भ्लोन, दलित संघका केन्द्रीय सदस्य गौरव विक, प्रदेश प्रतिनिधि बेलबहादुर मोक्तान, क्षेत्रीय प्रतिनिधि तेजबहादुर भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

४ वडाका कांग्रेस पार्टी प्रतिनिधि तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि गरी एकसय ५० भन्दा बढीको सहभागिता रहेको प्रशिक्षणमा विभिन्न पार्टी परित्याग गरी ४० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*