बागमती सरकार रेडियो नेपालसँग सहकार्य गर्न प्रतिबद्धः मन्त्री लामिछाने

साझाकुरा
२०८१ मंसिर २४, सोमबार ११:३२

हेटौंडा- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणका लागि थप समावेशी बनाउन प्रदेश सरकारले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।‘राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक आइतबार प्रदेशको राजधानी हेटौंडामा आयोजित एकदिने अन्तरक्रियामा प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लामिछानेले रेडियो नेपालको बागमती प्रादेशिक कार्यालय स्थापना गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।

रेडियो नेपालले नेपालको संविधान अनुरुप बहुभाषिक, बहुसांस्कृतिक एवम् समयअनुसार आफ्नो प्रसारण गरेकोमा उनले प्रशंसा गरे ।कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले रेडियो नेपालको प्रसारणलाई थप समावेशी, समुदाय केन्द्रित बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य सुरु गरिएको बताए । कार्यकारी निर्देशक लामाले छिट्टै नै बागमती प्रदेशको राजधानी हेटौँडामा रेडियो नेपालको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा नायवकार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले स्वागत मन्तव्य व्यक्त गरे ।

निर्देशक तथा योजना विकास र विस्तार महाशाखाप्रमुख पुष्करराज गौतमले रेडियो नेपालको समावेशी नीति र व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक मन्त्रालय, पर्यटन मन्त्रालयका सचिवहरु एवम् सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुखहरु, विभिन्न जातीय महासंघका अध्यक्ष एवम् प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा सहभागीले रेडियो नेपाललाई जनताको भरोसाको सञ्चारमाध्यम बनाउनुपर्ने साथै नयाँ मिडियासँग प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए । गण्डकी प्रदेशको पोखराबाट सुरु भएको अन्तरक्रिया कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिने कार्यक्रमका संयोजक भीम विश्वकर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*