एमाले हेटौंडा नगर अध्यक्षमा कार्की निर्वाचित
हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा युवानेता बोलबहादुर कार्की निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचन प्रक्रियाबाट कार्कीले प्रतिद्वन्द्वी जेन श्रेष्ठलाई पराजित गरे ।नगर अधिवेशनअन्तर्गत् अध्यक्षका लागि चारजनाको उम्मेदवारी परेकोमा इन्द्र नेपाल र नवराज खतिवडाले मनोनयन फिर्ता लिएपछि अध्यक्षमा कार्की र श्रेष्ठबीच मतदान भएको थियो । अन्य पदाधिकारीमा पनि चुनावी प्रतिस्पर्धा भएको थियो । हेटौंडा–५, स्थित पार्टी कार्यालयमा सोमबार बिहानबाट भएको मतदानको मतपरिणाम घोषणा गरिएको हो । ३३४ जना प्रतिनिधिमध्ये ३२७ जनाले मत दिएका थिए ।
अध्यक्षमा कार्कीले श्रेष्ठलाई ४३ मतान्तरले पराजित गरेका हुन् । कार्कीले १७६ मत प्राप्त गर्दा श्रेष्ठले १३३ मत मात्रै पाएका थिए । अध्यक्षमा निर्वाचित कार्की यसअघि सचिव थिए । उनी ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा हेटौंडा–८ को वडाअध्यक्षमा पराजित भएका थिए । उपाध्यक्षमा ३ जनाको प्रतिस्पर्धा रहेकोमा राजकुमार बास्तोला विजयी भए । धनबहादुर मोक्तान र इन्द्रप्रसाद खतिवडाले पराजय भोगे । निर्वाचित बास्तोलाले १४३ मत पाए भने मोक्तान र खतिवडाले क्रमशः ७४ र ६८ मत प्राप्त गरे । सचिवमा १९७ मत ल्याएर शान्ता गौतम (प्रदीप) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बानियाँले ८७ मत मात्रै पाए ।
उपसचिवमा शान्ताकुमार तामाङ ७४ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुरेश मिजारले ६७ मत, कवि रेग्मीले ४१ मत, शिवबहादुर थापाले ३९ मत, भीम तिमल्सिनाले ३४ मत र अर्जुनप्रसाद अर्यालले ३१ मतमा चित्त बुझाउन बाध्य भए । महिला उपसचिवमा चन्द्रावती पनेरु अधिकारी विजयी भएकी छन् । उनले १४६ मतसहित जित निकालेकी हुन् । रञ्जिता सिलवाल ७९ र जुना दंगाल ६९ मतमा सीमित बने ।