ठूला दुई विद्यालयको एकीकरण प्रक्रिया अघि बढ्यो

साझाकुरा
२०८१ पुष ३, बुधबार १२:०७

हेटौंडा- मकवानपुरको दुई ठूला विद्यालय एकीकरणको प्रक्रिया अगाडि बढेको छ । हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय मावि र भुटनदेबी माविबीच एकीकरणको प्रक्रिया अगाडि बढाइएको हो । दुबै विद्यालय ब्यवस्थापन समितिको एकीकरणमा जाने सहमतीय निर्णयसहित वडा कार्यालयको सिफारिस मंगलबार उपमहानगरप्रमुख मीनाकुमारी लामालाई बुझाइएको छ । मेघा विद्यालय बनाउने अवधारणासहित पहिलो चरणमा दुई ठूला विद्यालयले एकीकरणको प्रक्रिया थालनी गरेका हुन् । शिक्षा मन्त्रालयले विद्यार्थी संख्या न्युन भएको विद्यालय नजिकैको विद्यालयमा मर्ज गर्ने प्रावधान ल्याएको भएपनि ग्रामीण क्षेत्रमा विद्यालय मर्ज गर्ने विषयमा ठूलो बिबाद भइरहेको अवस्थामा हेटौंडामा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने दुई विद्यालय एकीकरण हुन लागेका हुन् ।

उपमहानगरपालिका–४ का वडाअध्यक्ष नबीन सिग्देलले हेटौंडाका दुई ठूला विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढेको बताए । दुबै विद्यालय ब्यवस्थापन समितिको निर्णयसहित वडाको सिफारिस लिएर नगरप्रमुखसमक्ष पुगेका टोलीलाई नगरप्रमुख लामाले अब प्रक्रिया अगाडि बढ्ने बताइन् । आरामाविमा करिब २८ सय बालबालिका र भुटनदेबी माविमा २२ बालबालिका अध्ययनरत छन् । भुटनदेबीमा प्राबिधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् । नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका माविमा करिब ८ हजार विद्यार्थी रहेका छन् ।

‘हरेक वर्ष प्रबेशपरीक्षा दिने एक हजार पाँचसय विद्यार्थीलाई भर्ना लिन सकेका छैनौं’ आरामाविका प्रधानाध्यापक रामसागर गुरागईं भन्छन्–‘पर्याप्त कक्षाकोठा र जनशक्ति भएको अवस्थामा चार हजारदेखि ४५ सय विद्यार्थी यही विद्यालयमा हुनेथिए । भुटनदेबी मावि र आरामावि एकीकृत गरी मेघा विद्यालय संचालन गर्ने विषयमा करिव ५ महिना अघि बहस अगाडि बढाइएको प्रअ गुरागाईले बताए । दुबै विद्यालय एकीकृत गरी राम्रोसँग ब्यवस्थापन गर्ने हो भने बुटवलको कालिका माविमा भन्दा धेरै विद्यार्थी हुनेछन् ।

हेटौंडा प्रदेशको राजधानी पनि भएका कारण मेघा विद्यालय संचालन गरी हेटौंडालाई शैक्षिक हव बनाउने गरी अगाडि बढ्न खोजेको सिग्देलले बताएका छन् । १० हजार विद्यार्थी अध्ययन गर्नसक्ने भौतिक पूर्वाधार निर्माण गर्ने र गुणस्तरीय शिक्षा दिएर उत्कृष्ठ विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ प्रक्रिया अगाढि बढाइएको वडाअध्यक्ष सिग्देलले जानकारी दिएका छन् । चित्लाङमा संचालनमा आएको मदन भण्डारी प्राविधिक विश्वविद्यालय, प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन गरिरहेको गृहकार्यलाई पनि मेघा विद्यालय संचालनले सहयोगी साबित हुनेछ ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, त्रिविअन्तर्गतको वनविज्ञान अध्ययन संस्थान, नारयणी कलेज, सहीद आकाश मेमोरियल कलेज, एएफयू अन्तर्गतको कृषि तथा वनविज्ञान क्याम्पसले हेटौंडामा उच्चशिक्षा अध्यापन गराइरहेका छन् । यी सबै उच्चशिक्षा अध्यापन गर्ने कलेजले गुणस्तरीय विद्यार्थी पाउन सकने सम्भावना बढेको सिग्देल बताउँछन् । ‘हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गर्न पनि यो निर्णय प्रभावकारी हुनेछ’ वडाअध्यक्ष सिग्देलले साझाकुरासँग भने ।

वडाअध्यक्ष सिग्देल लगायत जनप्रतिनिधि, आरामावि र भुटनदेबी मावि ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधिलगायत टोली छलफलमा जुटेको छ । दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय संचालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको बिश्वसनीयता बृद्धि गर्न सकिने, हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने जस्ता धेरै उपलब्धी हुने वडाअध्यक्ष सिग्देल बताउँछन् ।

भुटनदेबी मावि ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष सिग्देल भन्छन्–‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर मेघा विद्यालय संचालनका लागि अगाडि बढ्नेछौं ।’ भुटनदेबी माविसँग भएको जमिनलगायतका स्रोतलाई पूर्णरुपमा सदुपयोग गर्नका लागि मेघा विद्यालय संचालन गर्नुपर्ने सिग्देल बताउँछन् । हरेक वर्षको प्राविधिक धारसहितको प्रबेश परीक्षामा करिव एक हजार विद्यार्थीलाई भर्ना लिन नसकेको अवस्था रहेको भुटनदेबी माविका प्रअ माधवप्रसाद दाहालले जानकारी दिए ।

यो विद्यालयमा ईन्जिनियरिङ तर्फ कक्षा ९–१२ मा करिव २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् । बिग स्कूल संचालन गर्दा सबैपक्षलाई फाइदा पुग्ने प्रअ दाहालको धारणा छ । २०१६ सालमा स्थापना भएको भुटनदेबी मावि हेटौंडा नगरकै पहिलो विद्यालय हो । बिगत १५ वर्षदेखि नेपालको उत्कृष्ठ विद्यालयमध्ये एक मानिने आरामावि ब्यवस्थापन समितिका अध्यक्ष मोहम्मद समिम खानका अनुसार बिग स्कूलको अवधारणामा छलफल अगाडि बढेको छ । नेपाल सरकारले दर्बन्दी मिलान गर्ने, विद्यालय मर्ज गर्ने, मेघा विद्यालयको सम्भाब्यतामा छलफल गर्ने काम स्थानीय तहलाई नै सुम्पेको अवस्था छ ।

मुलुकभरका विद्यालयबाट आरामाविको ब्यवस्थापन, शैक्षिक गतिबिधि अध्ययन गर्ने टोली आइरहेका हुन्छन् । मेघा विद्यालय संचालन गर्दा आउनसक्ने सम्भावित चुनौतीका बारेमा अध्ययन भइरहेको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । उपमहानगरको कार्यपालिका बैठकमा मेघा विद्यालयको विषयमा छलफलहुने र आवश्यक परेको खण्डमा नगरपरिषद्बाट पारित गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*