बुद्धचोकमा उभिएर शिक्षामा सुधारको माग गर्दै आन्दोलन
हेटौंडा- सार्वजनिक शिक्षाप्रणाली सुधारको माग गर्दै एक युवाले हेटौंडाको बुद्धचोकमा उभिएर आफ्ना धारणा राखेका छन् । पोखराका युवा नेत्र चापागाई सोमबार हेटौंडाको वुद्धचोकमा उभिएर शिक्षामा सुधारको माग गरिरहेका थिए ।चापागाईं शिक्षा सुधारका माग लिएर केबल एक्लो व्यक्ति उभिरहेका थिए । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म टाउकोमा कागजको टोपी, ज्यानमा पम्पप्लेट लगाएर फरक रुपमा आन्दोलनमा छन् उनी ।
बुद्धचोक हुँदै यात्रा गर्दा ती पात्रलाई देख्नेहरु द· देखिन्थे । पुसमा जाडोमा ती पात्रको शिरमा कागजको टोपी थियो । कागजको टोपीमा ‘ताराबाजी लैलै, शिक्षामा सुधार खै ?’ लेखिएको थियो । छातीमा ‘हामी शीपमुलक शिक्षा, उद्यमशील समाज, सम्मानित शिक्षक, आकर्षक विद्यालय चाहन्छौँ’ अर्को ‘१५ सुत्रीय माग पुरा गरियोस्’ पम्पप्लेट थियो ।
सँगै सडक किनारको अशोकको रुखमा १५ बुँदे मागका ब्यानर झुड्याएर उभिरहेका पात्र हुन्, कास्कीका चापागाईं । उनी सार्वजनिक शिक्षा सुधारका लागि भन्दै हेटौंडाका बुद्धचोकमा एक्लै उभिएका हुन् । नेपाल समाजवादी पार्टीनिकट सामाजवादी विद्यार्थी युनियनको अध्यक्ष चापागाईंले शिक्षा सुधारका सरकारसंग १५ बुदेँ माग राखेका थिए । मागलाई सरकारले नयाँ शिक्षा ऐनमा राख्न चासो नदेखाएपछि असोज ९ गते पोखराको मानवअधिकारचोकबाट उभिएर आन्दोलन थालेका हुन् ।
माग सम्बोधन गर्न सरकारलाई दबाब दिन आफ्नो माग ज्यानमा भिरेर देश दौडाहामा निस्किएका हुन् । देशदौडाहा अभियानअन्तरर्गत उनी धनगढी, नेपालगञ्ज, सुर्खेत, विराटनगर हुँदै हेटौंडा आईपुगेका हुन् । गत जेठमा काठमाडौं माइतीघरमा ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नारासहित उभिएर सरकारलाई दबाब दिएका चापागाईंसँग माग पूरा गर्ने तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिबद्धता जनाएकी थिइन् ।
सरकार परिवर्तनसँगै आएको नयाँ शिक्षामन्त्रीलाई ध्यानार्कषण गराउँदा चासो नदेखाएपछि शिक्षा सुधारको १५ बुँदे माग लिएर देशको सातै प्रदेशको राजधानीमा दुई दिन ८ घण्टा उभिएर प्रदर्शन गरिएको चापागाईंले बताए । नयाँ शिक्षा ऐन बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने र ऐनमा इसिडी शिक्षालाई विद्यालय शिक्षाका मान्यता दिने शिक्षा ऐनको सुनिश्चितता हुनुपर्ने, इसिडी सरकारको प्राथमिक विषय बन्नुपर्ने, सार्वजनिक शिक्षामा आकर्षक वातावरण निर्माण गर्न सरकारले अभिभावक जागरण अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।
देशको प्रमुखसहरमा प्रर्दशन गर्दा पनि माग पुरा भएनभने जनकपुरपछि पुनः काठमाडौं माइतीघरमा उभिएर आन्दोलन सुरु गर्ने चापागाईंले बताए । पूर्व शिक्षामन्त्री श्रेष्ठसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन गर्न चापागाईंको माग छ । ‘शिक्षामन्त्री चेन्ज गर्ने आन्दोलन होइन, शिक्षाक्षेत्र चेन्ज गर्न हो, यो मेरो आन्दोलन होइन, राज्य, शिक्षामन्त्री अनि प्रधानमन्त्रीको पनि आन्दोलन हो,’ उनले भने, ‘म माग पुरा नभएसम्म उभिइरहन्छु ।’
आफूले राखेको माग कार्यान्वयनमा ल्याए राज्यले शिक्षा क्षेत्रको प्रगतिमा ठुलो छलाङ मार्ने उनको दाबी छ । उनको मागलाई ऐक्यबद्धता जनाउन नेपाल समाजवादी पार्टी, मकवानपुरका उपाध्यक्ष हरिहर खतिवडा, केन्द्रीय सदस्य राजेन्द्र सिंखडा (दाह्रीबा) र जिल्ला इन्चार्ज इजहार आलम लगायतको उपस्थिति रहेको थियो ।