नेपाल पत्रकार महासंघ बागमती प्रदेशको पदभार
हेटौंडा-नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण गरिएको छ । निवर्तमान बनेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।मंसिर २८ गते देशभरमा पत्रकार महासंघको निर्वाचन भएको थियो । बागमती प्रदेशमा निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक प्रताप विष्ट र नानीमैयाँ कार्की (सम्झना) ले प्रमाणपत्र वितरण गरे । मंगलबार बिहान हेटौंडा–११ थानाभ¥याङस्थित महासंघको कार्यालयमा निर्वाचन समितिले कृष्ण सारुमगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको थियो ।
नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सारुमगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको, सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका निर्वाचन समिति संयोजक विष्टले तीनपटक मिति तय भएर पनि निर्वाचन हुन नसक्दा कमजोर बनेको महासंघ निर्वाचन सम्पन्न भएसँगै सवल देखिएको बताए ।
पदभारग्रहणलगतै बसेको समितिको बैठकले पत्रकार महासंघ बागमती प्रदेशका लागि संस्थापक अध्यक्ष विष्टको संयोजकत्वमा जग्गा प्राप्ति र भवन निर्माण गर्नका लागि समिति गठन गरेको छ । कार्यक्रममा महासंघको प्रदेश उपाध्यक्ष हरि हुमागाई, महासचिव राधेश्याम खतिवडालगायतको उपस्थिति रहेको थियो ।