उपमहानगरको एक माविमा प्रअ र विब्यस अध्यक्षमा महिला
हेटौंडा–हेटौंडा उपमहानगरपालिका–१ चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा जानकी गिरी सर्वसम्मत चयन भएकी छन् । यो विद्यालयमा करिब एकदसकदेखि महिलाले प्रधानाध्यापकको भूमिकामा रहेर नेतृत्व गरिरहेकी छन् ।
बिहीवार भएको व्यवस्थापन समितिको बैठकले गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । मंसिर २१ गते सम्पन्न अभिभावक भेलाबाट चयन भएका चारजना सदस्य र मनोनित सदस्यसहित ज्येष्ठ सदस्य धनबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले गिरीलाई अध्यक्ष चयन गरेको प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् । उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत राजमणि शर्माका अनुसार उपमहानरको माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्भवत यो पहिलोपटक महिला चयन भएको हो । महिला अध्यक्ष भएको विद्यालयलाई उपमहानगरले प्रोत्साहन कार्यक्रमबाट समेट्ने नीति रहेको शर्माले बताए ।
मंसिर २१ गते भएको ३२ औं अभिभावक भेलाबाट सदस्यहरुमा धनबहादुर तामाङ, शर्मिला अधिकारी, बसन्त अर्याल र बिमला थापा चयन भएका थिए । अभिभावक भेलापछि बसेको पहिलो बैठकबाट जानकी गिरी र रामकुमार बर्तौला मनोनित सदस्यको रुपमा व्यवस्थापन समितिमा प्रवेश गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष गिरीले विद्यालयमा प्लस टु सञ्चालन, अंग्रेजी माध्यमबाट पढाई, विद्यालयको बस व्यवस्थापनलगायतमा आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
अमर माविमा हेटौंडा–१ को चाइनाक्वाटर, जरुवाटोल, चौकीटोल, भैरवडाँडा, नकौली तथा वडा नम्बर १० को बसपार्क, राप्तीरोड, ११ नम्बर वडाको थानाभ-याङ क्षेत्रका विद्यार्थी अध्ययनरत् छन । ती विद्यार्थीलाई सहज आवागमन र गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवस्थापन समिति दत्तचित्त भएर लाग्ने अध्यक्ष गिरीले बताइन् । हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका अध्यक्ष सविन न्यौपानेले गिरीको नेतृत्वमा विद्यालयले शैक्षिक र भौतिक विकास गर्नेमा विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका पदेन सदस्यसमेत रहेका वडाअध्यक्ष न्यौपानेले उपमहानगरको माध्यमिक विद्यालयहरुमध्ये पहिलोपटक व्यवस्थापन समितिमा महिला अध्यक्ष बनाउन पाउँदा खुशी व्यक्त गरे । अमर माविमा महिला अध्यक्ष भएसँगै प्रधानाध्यापक महिला, मेयर महिला, शिक्षा हेर्ने सामाजिक विकास मन्त्री महिला हुँदा महिलाले अगाडि सारेको योजना सम्पन्न हुन कुनै समस्या नहुनेमा विश्वस्त रहेको वडाअध्यक्ष न्यौपानेले बताए ।