हेटौंडा उपमहानगरको बजेट २० करोडले बढ्यो

साझाकुरा
२०८१ पुष ६, शनिबार २०:२१

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको १६ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । बागमति प्रदेशको राजधानी सहर समेत रहेको हेटौंडा उपमहानगरपालिकाको १६ औं सभाले बजेटको आकारलाई २० करोड रुपैयाँले बढाएको छ ।

चालु आर्थिक बर्ष २०८१/८२ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै शुक्रबारको १६ औं सभाले बजेटको आकार बढाएको हो । उपमहानगरको नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०८१/८२ को हालसम्मको प्रगति समीक्षा एवम् संशोधित कार्यक्रम प्रस्तुत गर्दै संसोधन सहितको २ अर्व ७२ करोड रुपैयाँको बजेट पास गरेको हो । उपमहानगरले चालु आर्थिक वर्षको असारमा भएको नगरसभाले २ अर्व ५२ रुपैयाँको बजेट ल्याएको थियो ।

उपमहानगरले अनिवार्य दायित्व सृजना भएका खर्चहरु व्यवस्थापनका लागि गत असारमा पास भएका बजेटका लागि १९ करोड ९७ लाख १० हजार रुपैयाँ थप गरेको हो । श्रोत व्यवस्थापनका लागि आन्तरीक आयतर्फको ढुंगा गिट्टी बालुवाको ‘आईई’ गरी ठेक्काको चरणमा रहेको, करको दायरा बृद्धिगर्ने कार्यका लागि व्यवसाय दर्ता गराउन घुम्तीशिबिर सञ्चालन गर्ने र खर्च नहुने बजेट शीर्षकबाट श्रोत व्यवस्थापन गर्दै अघि बढ्ने निर्णय नगरसभाले गरेको छ । त्यस्तै सभाले आउँदो चैत्र मसान्तसम्म योजना सम्झौता गरी जेठ मसान्तसम्म योजना सम्पन्न गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।

उपमहानगरले चालु आर्थिक वर्षमा बहुवर्षीय योजनाको भुक्तानी तथा पूर्वाधार विकास योजनाको लागि ५ करोड, सिमलटार खानेपानी योजनाका लागि ५० लाख, कार्यालयको इन्धन व्यवस्थापनका लागि १ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २३ करोड, समुदायिक विद्यालयको इसिडि शिक्षक तथा विद्यालय कर्मचारी प्रोत्साहनका लागि १ करोड २२ लाख रुपैयाँ सहित बिभिन्न १२ शीर्षकमा दायित्व अनुमान गरेर बजेट संसोधन गरेको हो ।

उपमहानगरले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा संघीय समानीकरण तथा सशर्त अनुदानतर्फ ४५ करोड ८ लाख ९० हजार, प्रदेश सरकार समानीकरण तथा सर्शत र समपुरक अनुदानतर्फ ३ करोड ८ लाख ९० हजार, संघीय र प्रदेश सरकारबाट राजश्व बाँडफाँडतर्फ १४ करोड ६८ लाख ९ हजार, आन्तरीक श्रोत र गतवर्षको मौज्दातबाट २० करोड ६२ लाख १७ हजार र नगर विकास कोषबाट ऋण १ कारोड ४८ लाख ४२ हजार गरी ३२ दश्मलब २३ प्रतिशत आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिबेदनअनुसार उपमहानगरले मंसिर मसान्तसम्म ४५ करोड ११ लाख ६८ हजार रुपैयाँ बिभिन्न शीर्षकमा खर्च गरेको जनाइएको छ । नगरसभाले खानेपानी, सरसफाई तथा स्व्चछतासम्बन्धी विधेयक २०८१, संघसंस्था दर्ता नियमन गर्ने सम्बन्धी विधेयक २०८१, हेटौंडा उपमहानगरपालिका शिक्षा ऐन दोश्रो संशोधन विधेयक २०८१, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दोश्रो संशोधन विधेयक २०८१ सर्बसम्मत पारीत गरेको छ । नगरसभा नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको हो ।

सभामा नगरप्रमुख लामाले नगरबासीको अपेक्षा धेरै भएपनि सीमित श्रोतसाधनका कारण सोचेजत्ति काम गर्ने अवस्था नभएको बताइन् । उनले अहिलेको अवस्थामा सबैको साथ र सहयोग लिएर अघि बढ्नु पर्ने जरुरी रहेको औंल्याइन् । सबै विकासका कामका लागि आर्थिक श्रोतको सुनिस्चितता जरुरी रहेपनि अहिले यो अवस्था नरहेको बताइन् । श्रोत अभावको समयलाई मूल्यांकन गर्दै विकासका योजना बनाउन जरुरी रहेको उनको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*