पालुङ सहकारी हेटौंडा सेवाकेन्द्रको साधारणसभा

साझाकुरा
२०८१ पुष ६, शनिबार २०:२१

हेटौंडा–मकवानपुरकै ठूलो वित्तीय संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडा सेवाकेन्द्रको सेवाकेन्द्रस्तरीय वार्षिक साधारणसभा भएको छ ।

सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी संघको सदस्य, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभाको अबसरमा सहकारीले पुरस्कार तथा सम्मान प्रदान गरेको छ । वरिष्ठ सदस्यहरु रामतानी विष्ट, देवकीदेवी दाहाल, रामचन्द्र आचार्य ‘फुर्सती’लाई सम्मान प्रदान गरिएको सहकारीका सचिव नवराज विष्टले जानकारी दिए । मीना भण्डारीलाई न्यानो झोला, बचततर्फ नवराज खनाल, कर्जातर्फ सुजन उप्रेतीलाई पुरस्कार प्रदान गरिएको छ ।

सहकारीको आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म संस्थामा ६ हजार ५ सय ८० जना शेयरसदस्य र ४ हजार १ सय २३ जना समूह सदस्य छन् । सहकारीको शेयरपूँजी ९ करोड ९४ लाख ६६ हजार ६ सय, कुल बचत ७४ करोड ६९ लाख ९२ हजार ६ सय ९३ र ऋण लगानी ९७ करोड ३० लाख ६२ हजार ४ सय ७८ दशमलव ७ रहेको अध्यक्ष विष्टले जानकारी दिए । संस्थाले बचत संकलन र ऋण लगानी दुवैमा गतवर्ष लिइएको लक्ष्यभन्दा बढी सफलता हासिल गरेको जनाएको छ ।

९ पुस २०५६ मा स्थापित सहकारीले २५ वर्ष पूरा भएको अबसरमा रजतजन्यती मनाइरहेको छ । संस्थाको अहिले आफ्नो स्वामित्वमा ६–२–०–० रोपनी जग्गा रहेको छ । सहकारीले बचत तथा ऋणको कारोबारलगायत लघुवित्त कारोवार, रासायनिक मल तथा खाद्यान्न विक्री, हाइटेक नर्सरी तथा तरकारी उत्पादन र बिक्रि सदस्यले उत्पादन गरेको तरकारी बिक्री, विशिष्टीकृत सहकारी संघमा रहेर शीतभण्डारको सञ्चालन गर्ने क्रममा विप्रेषणसेवा सञ्चालनलगायत कार्य गर्दै आएको अध्यक्ष विष्टले बताए ।

यो सहकारीलाई गत आव २०८०/८१ मा सबैभन्दा धेरै करतिर्ने सहकारीकारुपमा आन्तरिक राजश्व कार्यालय हेटौंडाले सम्मान प्रदान गरेको थियो । सहकारीको आव २०८०/८१ को व्याज आम्दानी २० प्रतिशतले वृद्धि गरी १७ करोड २० लाख रुपैयाँ पुग्ने लक्ष्य लिइएकोमा ८७ प्रतिशत मात्र लक्ष्य प्राप्ति भएको जनाइएको छ । संस्थाले व्याज आम्दानी १८ प्रतिशतले बृद्धि गरी १७ करोड ७५ लाख पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रममा संस्थाको पूर्वअध्यक्ष तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ कोषाध्यक्ष पुरुषोत्तम कार्की, सहकारीको हेटौडा सेवाकेन्द्रका संयोजक तथा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, सहकारीको हेटौंडा सेवाकेन्द्र समितिका सदस्य तथा हेटौडा खानेपानी बोर्डको अध्यक्ष प्रताप विष्ट, हेटौंडा सेवाकेन्द्र समितिका सदस्य गुणराज घिमिरे, राष्ट्रिय सहकारी बैंक लिमिटेड हेटौंडा शाखाप्रमुख रामेश्वर अर्याल, सेवाकेन्द्र हेटौंडाका पूर्वसदस्य विष्णु दाहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*