युवा पलायन रोक्न राज्यले उचित सम्बोधन गर्नुपर्छः मन्त्री महर्जन
हेटौंडा-बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।प्रदेश युवा परिषद्ले हेटौंडामा आयोजना गरेको ‘राष्ट्रिय युवा कविता उत्सव २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । ‘म खेलकुद क्षेत्रबाट आएको मान्छे, युवाको भावना र मर्म बुझ्छु । विषयगत ज्ञान पनि मसँग छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन पर्याप्त छैन । जसले गर्दा हामीले युवाको क्षेत्रमा उल्लेख्य काम गर्न सकिरहेका छैनौँ । फलस्वरुप युवालाई स्वदेशमा टिकाउनै मुस्किल छ’ उनले भने ।
परम्परागत पेसा र व्यवसायको जगेर्ना गर्दै व्यावसायीकरणमा युवालाई सहयोग गर्नसके युवा उत्प्रेरित हुने भन्दै उनले आफ्नो कार्यकालमा युवामैत्री उद्यमशीलता सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सीप, प्रविधि, पूँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न पहल गर्ने बताए ।त्यस्तै प्रदेश सचिव बद्रीनाथ गैह्रे र परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवालाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सीपमुलक तालिमसँग जोड्न सहयोग र समन्वय गरिने बताए । साहित्य संगम मकवानपुरले समन्वय गरेको कविता उत्सवमा साहित्यकार मोमिला जोशीले १० वटा कविता प्रस्तुत गरेकी थिइन् ।
युवाकबिका रचना समेटिएको खुला कविता प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम हुँदै नगद ४० हजार रुपैयाँ हात पार्न सफल भएका छन् । उनले ‘सावधान’ शीर्षकको कवितावाचन गरेर निर्णायकको मन जितेका थिए ।प्रतियोगितामा कास्कीका सुदर्शन पौडेलले ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कवितासँग द्वितीय स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
त्यसैगरी, उदयपुरकी सुमी पोखरेलले ‘समयदर्शक यन्त्रको पर्दा नियाल्दा’ शीर्षकको कवितासँग तृतीय स्थान हासिल गर्दै २० हजार रुपैयाँ प्राप्त गरिन् । बझाङका महेश कठायतले ‘देश’ शीर्षकको कविताका लागि सान्त्वना पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ प्राप्त गरे । कविता उत्सवका लागि देशभरबाट २ सय २३ कविता प्राप्त भएकामध्येबाट उत्कृष्ट २० कविताको सूची तयार पारिएको थियो । शनिबार आयोजित कार्यक्रममा छनोटमा परेका कविले कवितावाचन गरेका थिए ।