नेता बानियाँको मनहरीमा सम्पर्क कार्यालय स्थापना

साझाकुरा
२०८१ पुष ७, आईतवार १३:२३

हेटौंडा- मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावीक्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमकाबीच कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरे । उपप्रधानमन्त्री सिंहले सम्पर्क कार्यालय उद्घाटन गर्दै जनप्रतिनिधिले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सहज पहुँच हुने गरी कार्यालय वा सम्पर्कालय स्थानमा गर्न जरुरी रहेको बताए ।

देशमा जवजव जटिल समस्या पर्छ कांग्रेसले नेतृत्व लिएर समाधान गरेको विगतका उदाहरण रहेको बताउँदै उप–प्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मात्रै विकास र समृद्धि सम्भव भएको दाबी गरे । कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य बानियाँले चुनावको बेला मतदातामाझ गरेको प्रतिवद्धता अनुरुप कार्यालय खोलेको बताए । मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी बजारमा मतदाताको गुनासो सुन्न तथा साझा सम्पर्कथलोको रुपमा विकास गर्न कार्यालय खोलिएको कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँले बताए ।

सम्पर्क कार्यालयमार्फत् मकवानपुर क्षेत्र नम्बर २ ख का मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ का मतदाताले विकास निर्माणलगायत विषयमा छलफल गर्न सक्नेछन् ।सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेश सदस्यद्वय सन्त चेपाङ र जानुका लामा, कांग्रेस प्रदेश क्षेत्रीय सभापति एवम् मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी–७ का वडाअध्यक्ष ठाकुर तितुङलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*