मनहरीमा १३७ केजी गाँजा बरामद
हेटौंडा- मकवानपुर प्रहरीले मनहरीबाट १ सय ३७ केजी गाँजा बरामद गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरतर्फ गाँजाको भारी बोकेर गइरहेको अवस्थामा राप्ती खोलामा प्रहरीलाई देखेपछि गाँजाको भारी नै छाडेर भरियाहरु भागेका थिए ।१०÷१२ जनाको समूहमा रहेका भरियाले शनिबार बिहान राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारि बसेको थियो । प्रहरीलाई देखेर भरियाले गाँजाको बोरा छाडेर भागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
उनका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद भएको छ । ‘गाँजाको बोरा छाडेर भाग्नेहरुको खोजी गरिरहेका छौं,’ इप्रका मनहरीका प्रहरी अधिकृतले भने । तस्करहरुले राक्सिराङबाट गाँजा खरिद गरेर मनहरी गाउँपालिकाको विभिन्न नाका हुँदै भारततर्फ लैजाने गरेका छन् ।मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि पुस ६ गतेसम्म ३ हजार ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरोहिरोइन बरामद गरेको छ ।
लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६९ जना पक्राउ गरेको प्रहरी नायवउपरीक्षक एवम् प्रवक्ता अर्यालले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।