युसेस सहकारीको १५ औं साधारणसभा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, स्थित युसेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा भएको छ ।हेटौंडा–१० का वडाअध्यक्ष फुर्वादोर्जे लामाको प्रमुखआतिथ्यता, १ नम्बर वडाका वडाअध्यक्ष सविन न्यौपानेको विशेष आतिथ्यता तथा सहकारीका अध्यक्ष उत्तम शर्मा ढकालको सभाध्यक्षतामा साधारण सभा भएको हो । हेटौंडा उपमहानगरका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, साधारणसभामा जिल्ला सहकारी संघ उपाध्यक्ष मेनका घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संस्था सचिव विजय बस्नेत, जिल्ला बहुद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
८ सय ७३ जना शेयरसदस्य रहेको युसेस सहकारीको आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म शेयर पुँजी ९३ लाख २८ हजार ९ सय रहेको छ । बचत निक्षेप ५ करोड ५० लाख ८५ हजार ३ सय १६ रुपैयाँ, जगेडाकोष ३१ लाख ७९ हजार ८ सय ३२ रुपैयाँ, अन्य कोषमा १३ लाख १० हजार ७ सय ४० रुपैयाँ र कारोबार ७ करोड ३९ लाख २३ हजार ७६ रुपैयाँ गरेको सहकारीका अध्यक्ष ढकालको वार्षिक प्रतिवेदन र कार्ययोजनामा उल्लेख गरिएको छ ।
सहकारीले गतवर्ष जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै ऋणीको जोखिम व्यवस्थापनका लागि अनिश्चित ऋण सुरक्षणकोषको व्यवस्थालाई निरन्तरता दिएको, कर्मचारीलाई युनिफर्म र छाता लगायतका सामग्री उपलब्ध गराएको, संस्थाले सम्पत्ति शुद्धीकरण व्यवस्थालाई कडाइका साथ पालना गरेको, कोपोमिस प्रणालीलाई अनिवार्य लागु गरिएको जनाएको छ ।
अध्यक्ष ढकालका अनुसार राष्ट्रिय सहकारी स्थापना दिवसमा सहभागी भएको, सहकारी अवलोकन भ्रमणमा सञ्चालक र शेयरसदस्य गरी जम्मा ३५ जनाको टोली गएको, बालमैत्री कार्यक्रम वडा न. ४ ले गरेको कार्यक्रममा ब्यानर सहित सहभागी भएको, बालमैत्री कार्यक्रमका लागि ५ हजार आर्थिक सहयोग गरेको, सहकारी शिक्षा अभिमुखीकरण हेटौंडा–११ बुद्धचोक टोलविकास भवनमा ९१ जनाको सहभागितामा कार्यक्रम गरिएको, पोखरास्थित सहकारी रोयल साकोस र जनसेवा साकोसको अध्ययन तथा अवलोकन भ्रमण गरिएको, १ वर्षभन्दा बढी भाखा नाघेको ऋण शून्य पार्ने सहकारीले रणनीति लिएको बताइएको छ । कुल ऋणमा भाखा नाघेको ऋण २ प्रतिशतभन्दा कम गराउने लक्ष्य राखिएको अध्यक्ष ढकालले बताए ।