मनहरीको प्रशासनिक भवनको उपप्रधानमन्त्री सिंहद्वारा शिलान्यास
हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । शनिबार रजैयामा एक औपचारिक कार्यक्रमकाबीच उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गरेका छन् ।काठमाडौंको तामाकोशी ढाचा निर्माण सेवा जेभीसँग गाउँपालिकाले ८ करोड २८ लाखमा २०८२ चैत्र ३० गतेसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको हो । गाउँपालिका कार्यालय हाल भाडाको घरमा बस्दै आइरहेको छ ।
शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भवनको निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । नयाँ प्रशासकीय भवनबाट जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।