चुरियामाई सुरुङ आज हस्तान्तरण गरिँदै, अब नगरको जिम्मा

साझाकुरा
२०८१ पुष ८, सोमबार ११:०६

हेटौंडा-दक्षिण एसियाकै पहिलो सुरुङमार्गको रुपमा रहेको चुरियामाईको सुरुङ आज सोमबार विधिवत रुपमा हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिँदैछ । हस्तान्तरण पछि सुरुङलाई पर्यटकीयस्थलको रुपमा सञ्चालन गर्ने उपमहानगरको योजना छ ।वर्षौदेखि जीर्ण सुरुङको पुनःनिर्माणपछि बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सोमबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गर्न लागेको निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोख्रेलले जानकारी दिए । सुरुङको पुनःनिर्माण एक वर्षअघि नै सम्पन्न भइसकेको थियो । तर, प्राविधिक कारण देखाएर निर्देशनालयले उपमहानगरलाई हस्तान्तरण गर्न सकेको थिएन ।

‘हामीले एकवर्ष अगाडि नै पुनःनिर्माण गरिसकेका थियौं । प्राविधिक कारणले हस्तान्तरण हुन नसकी ढोका बन्द गरेर राख्नुपरेको थियो’ पोख्रेलले भने । निर्देशक पोख्रेलले उपमहानगर र निर्देशनालय बीच सहमति भएअनुसार मर्मत सम्भार प्रदेश सरकारले गर्ने उल्लेख गरिएको छ । उपमहानगरले नै कर÷शुल्क संकलन गर्नेछ ।उपमहानगरपालिकाले चुरियामाई सुरुङलाई पर्यटकीय स्थलका रुपमा सञ्चालन गर्न कार्यविधि निर्माण गरिसकेको छ । कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपा· र जेष्ठनागरिकलाई निःशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

चुरियामाई सुरुङ सञ्चालन कार्यविधि बनाएर उपमहानगरले पर्यटकीयस्थलको रुपमा विकसित गर्नेगरी अगाडि बढेको प्रवक्ता न्यौपानेले बताए । ‘प्रदेशबाट हामीलाई हस्तान्तरण भएपछि प्रक्रिया पु¥याएर तत्कालै सञ्चालन हुनेछ ।’ उनले भने । उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि सम्बन्धित समितिलाई नै संचालनका लागि हस्तान्तरण गर्न सक्ने कार्यविधि नगरपालिकाले बनाएको छ । ऐतिहासिक सुरुङ अवलोकनका लागि आन्तरिक एव बाह्य पर्यटक आउने चुरियामाई संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले बताए ।

हेटौंडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो । भग्नावशेष सुरुङलाई पुरानै अवस्थामा ल्याउन प्रदेश सरकारले काम गरेको हो । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक चुरियामाई सुरुङको पुनःनिर्माण थालेका थिए । २०७८ साउनमा थालिएको पुनःनिर्माण २०८० असार अगाडि नै सकिएको थियो ।१०६ वर्ष पुरानो सुरुङ पुनःनिर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागत सम्झौता गरेको थियो । सुरुङको पुनःनिर्माण २०७९ वैशाखसम्म सक्ने भनिएता पनि पटक–पटक म्याद थपेर हालसम्म काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

श्री ३ चन्द्रशम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीज· थापाले सुरुङमार्ग निर्माण गरेका थिए । सुरुङ नेपाली प्रविधि प्रयोग गरेर थापाले निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो । त्यतिबेला भारतबाट हेटौंडा–भीमफेदी हुँदै काठमाडौं पु¥याउने साना सवारी साधन ल्याउन सुरुङ बनाइएको थियो ।प्रजातन्त्र पुनःस्थापना पछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारी साधनहरु भित्रिएपछि सुरुङ छेवैबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष भईरहेको थियो ।

सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाई ३ मिटर ३० सेन्टिमिटर रहेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारालाई सडक बिस्तारको सम्भावनाले भित्र लगेको देखिन्छ । बारातर्फको प्रवेशद्वार भने पुरानै अवस्थाको हुने जनाइएको छ ।पहाड खोपेर बनाइएको सुरुङमा चुना, सुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरु कुँदिएका छन् । सुरुङमार्ग पुनःनिर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*