बागमती प्रदेशमा १.३७ प्रतिशत धान उत्पादन घट्यो

साझाकुरा
२०८१ पुष ८, सोमबार ११:०८

हेटौंडा-बागमती प्रदेशमा यसवर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु¥याउँदा एक दशमलव ३७ प्रतिशतले धान उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार चारसय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिकटनका दरले चार लाख आठ हजार तीनसय १६ मेट्रिकटन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

अघिल्लो आव २०८०÷८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकोमा चार लाख १३ हजार नौ सय ८८ मेट्रिकटन उत्पादन भएको थियो । कुँवरका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवन, काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढेपनि अन्य जिल्लामा घटेको हो । बागमती प्रदेशको सबै भन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २३ हजार सात सय हेक्टरमा प्रतिहेक्टर चार दशमलव १५ मेट्रिकटनका दरले ९८ हजार तीन सय ५५ मेट्रिकटन धान उत्पादन भएको छ । नुवाकोटमा ११ हजार छ सय १५ हेक्टरमा प्रतिहेक्टर चार दशमलव १७ प्रतिशतका दरले ४८ हजार तीन सय ९० मेट्रिकटन, धादिङमा ११ हजार तीन सय १२ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ८९ प्रतिशतका दरले ४४ हजार चार मेट्रिकटन उत्पादन भएको छ ।

काठमाडौँमा यसवर्ष चार हजार नौ सय २४ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ७१ प्रतिशतका दरले २३ हजार एक सय ९२ मेट्रिकटन, ललितपुरमा चार हजार एक सय ७८ हेक्टरमा प्रतिहेक्टर चार दशमलव ५३ प्रतिशतका दरले १८ हजार नौ सय २६ मेट्रिकटन र भक्तपुरमा तीन हजार पाँच सय ९९ हेक्टरमा प्रतिहेक्टर पाँच दशमलव ५१ प्रतिशतका दरले १९ हजार आठ सय २३ मेट्रिकटन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यसवर्ष धान कम उत्पादन भएको छ । मकवानपुरमा सात हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव नौ प्रतिशतका दरले २७ हजार तीन सय ६६ मेट्रिकटन, काभ्रेमा आठ हजार १९ हेक्टरमा प्रतिहेक्टर तीन दशमलव ९१ प्रतिशतका दरले ३१ हजार तीन सय ५४ मेट्रिकटन, रामेछापमा सात हजार आठ सय ८० हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिकटन र सिन्धुपाल्चोकमा सात हजार नौ सय हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिकटन धान उत्पादन भएको हो ।

दोलखामा दुई हजार आठ सय ७२ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव ५० प्रतिशतका दरले सात हजार ६८ मेट्रिकटन र रसुवामा एक हजार ९९ हेक्टरमा प्रतिहेक्टर दुई दशमलव २३ प्रतिशतका दरले दुई हजार चार सय ५१ मेट्रिकटन धान उत्पादन भएको कृषिविज्ञ कुँवरले जानकारी दिए । बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको पाँच हजार छ सय मेट्रिकटन धानबालीमा क्षति पुगेको जनाइएको छ । समयमा वर्षा र रोग कीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोले क्षतिपु¥याएपछि उत्पादनमा घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*