सहकारीमार्फत उत्पादित वस्तुको तीनदिने प्रदर्शनी मेला गरिने
हेटौंडा-जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा हेटौंडामा सहकारीमार्फत उत्पादित वस्तुहरुको तीनदिने प्रदर्शनी मेला हुने भएको छ ।संघको २० औँ स्थापना दिवसको अवसरमा संघले प्रदर्शनी तथा बिक्री मेला आयोजना गर्ने भएको छ । आगामी पुस १६ गतेदेखि १८ गतेसम्म प्रदर्शनी मेला हुने जनाइएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष कल्पना श्रेष्ठले सहकारीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्नका निम्ति प्रदर्शनी आयोजना गर्न लागेको बताइन् ।
उनले बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय सहकारीले समेत उत्पादन गरेका हस्तकला सामग्री, खाद्य सामग्री, मसला सामग्री, डेरि परिकारलाई मेलाका स्टलमा राखिने बताइन् ।प्रदर्शनी मेला संघको नवनिर्मित भवनमा नै हुनेछ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान रहेको उनले बताइन् । मेला प्रदर्शनीमा करिब पाँच लाख खर्च हुने अनुमान गरेका छौं, अध्यक्ष श्रेष्ठले भनिन् । ४० वटा स्टल रहनेछन्, स्टलका लागि दर्ता शुल्क एक हजार एक सय रहेको श्रेष्ठले बताइन् । प्रदर्शनीमा केराको मम, फापरको थुलौरा, सेल तरकारी लगायतको समेत स्टल रहने जनाइएको छ । स्टल राख्नेमध्येबाट उत्कृष्ट चार स्टललाई पुरस्कारको समेत व्यवस्था रहेको छ ।
प्रदर्शनी मेलामा १६ गते सहकारी हाजिरीजवाफ प्रतियोगिता, १७ गते सहकारी निबन्ध प्रतियोगिता र सहकारीका सचिवबीच सहकारी वक्तृत्वकला प्रतियोगिता रहने संघका व्यवस्थापक सुमित्राकुमारी वाईबाले बताइन् । निबन्ध प्रतियोगिता कलेजस्तरीय रहने र एकका लागि सबै, सबैका लागि एक विषयवस्तु रहेको उनले बताइन् । वक्तृत्वकलामा भने सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने विषय रहेको जानकारी दिइन् । प्रतियोगितामा उत्कृष्ट चार जनालाई नगद सहित पुरस्कृत गरिने संघले जनाएको छ ।
१८ गते संघको नवनिर्मित भवनको उद्घाटन गरिने जनाइएको छ । ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटमा निर्माण भएको भवनमा करिब साढे ३ करोड खर्च हुने अनुमान रहेको व्यवस्थापक वाईबाले बताइन् । प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाख भन्दा माथि र संघको जगेडाकोषको सहिको रकमबाट भवन निर्माण गरिएको उनले बताइन् । नवनिर्मित भवनको बागमती प्रदेश सरकारका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यतालिका रहेको संघले बताएको छ ।