चन्द्रागिरि सडकको स्तरोन्नतिमा मन्त्री सिंहको चासो
हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहानगरलाई काठमाडौंसँग जोड्ने चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माणलाई पूर्णता दिन सहरी विकास मन्त्री प्रकाशमान सिंहले चासो देखाएका छन् ।उनले सडक स्तरोन्नतिका लागि संघीय सरकार तत्पर रहेको बताए । सिंहले मकवानपुरलाई काठमाडौं जोड्ने मात्र नभई संघ र प्रदेश सरकारलाई जोड्ने छोटो दुरीको मार्ग पनि यहि भएकोले बेग्लै महत्व रहेको उल्लेख गरे । नेपाली कांग्रेस थाहानगरले चित्लाङमा आयोजना गरेको सडकको अवलोकन तथा भेटघाट कार्यक्रममा मन्त्री सिंहले समयमै निर्माण गराउने प्रतिबद्धता जनाएका हुन् ।
चित्लाङ–चन्द्रागिरि थानकोट सडक निर्माण सम्पन्न हुँदा कुनै एउटा पार्टीलाई मात्र सुविधा नभई समग्र जनताले लाभ लिने हुँदा संघ, प्रदेशका सांसदहरु तथा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायत सबै जनप्रतिनिधिले विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो ।चित्लाङ–चन्द्रागिरि–थानकोट सडक वि.सं. २०४९ सालको स्थानीय निकाय चुनाव पछिको पहिलो काठमाडौं जिल्ला सभापति तीर्थबहादुर केसीको अग्रसरतामा निर्माण थालिएको हो । सडकको वि.सं. २०४९ गणेशमान सिंहले शिलान्यास गरेका थिए । हालका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिह उनै गणेशमान सिंहका छोरा हुन् ।
नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले एग्रो टुरिजमको उर्वरभूमि थाहानगरसम्म २२ किलोमिटर सडक व्यवस्थित नहुनु दुखद् भएको बताए ।सभापति बानियाँले अहिलेको सरकारले चित्लाङ–चन्द्रागिरि सडक निर्माणलाई गर्नै पर्ने कामको सूचीमा राखेको बताउँदै आगामी बजेटमा समेटेर निर्माण पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।