एमालेका मन्त्री र सांसदलाई सुशासनसम्बन्धी तालिम

साझाकुरा
२०८१ पुष १०, बुधबार ११:३०

हेटौंडा-नेकपा एमाले बागमती प्रदेशका सांसदहरुलाई सुशासन अध्यापन गराउन सुरु गरिएको छ । एमाले बागमती प्रदेशका सांसदलाई भ्रष्ट्राचार नियन्त्रण तथा आर्थिक पारदर्शिता र सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सुशासन पढाउन सुरु गरेको हो ।एमाले बागमती प्रदेश संसदीय दलले सांसदलाई सुशासन र संस्थागत विश्लेषण तालिम सुरु गरेको हो । अगामी पुस १२ गतेसम्म एमाले बागमती प्रदेशका सांसदलाई सुशासन र संस्थागत विश्लेषण तालिम दिने भएको छ । एमाले उपाध्यक्ष गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा मंगलवार प्रदेशसभा सचिवालय हेटौंडामा सुरु भएको तालिमलाई बेलायतमा रहेर परराष्ट्र मामिला तथा सुशासनका विषयमा काम गर्दै आएका चन्द्रकान्त अधिकारीले प्रशिक्षण दिनेछन् ।

तालिमको उद्घाटन गर्दै एमाले उपाध्यक्ष बरालले पछिल्लो समय राजनीतिक दलको मुद्दा रुपान्तरित भइरहेको बताए । विगतमा व्यवस्था परिवर्तन संविधान निर्माणलाई मुद्दा बनाएका राजनीतिक दलले हाल लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने मुद्दा लिएर अघि बढेको उनले बताए । उनका अनुसार व्यवस्था परिवर्तनसँगै आगामी यात्रा विकास समृद्धि र सुशासनको बुलन्द गर्नुपर्ने अवस्था रहेको बताए ।यो विषयमा भूमिका निर्वाह गर्न एमालेका नेता कार्यकर्ता तथा जनप्रतिनिधिको दायित्व रहेको उनको भनाई छ । ‘हामीलाई सुशासनका मामलामा राष्ट्रका नागरिक र अन्तर्राष्ट्रियस्तरबाट मूल्यांकन गरिरहेका छन् । विभिन्न विधि प्रक्रियाबाट हामीले मूल्यांकनको सामना गरिरहेका छौँ । सुशासनमा नेपालको स्थिति राम्रो छैन ।

अब एमालेका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिले सुशासनको अवस्था उकास्न भूमिका खेल्नु पर्दछ’ उनले भने । उपाध्यक्ष बरालका अनुसार सुशासनका विषयमा विश्व बैंकको मार्किङ, विश्व अर्थतन्त्र, वर्टेलस्मन फाउन्डेसन, ग्लोवल इन्साड, विश्व जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी लगायतले नेपालको सुशासनको अवस्थालाई नियालिरहेका छन् ।भ्रष्टाचारको सूचक र नेपालको स्थितिबारे उक्त संस्थाले मूल्यांकन गरिरहेका उनले बताए । ती निकायले करप्सन पर्सेप्सन इन्डेक्स भ्रष्टाचार अनुभूति सूचकमा नेपाललाई अधिकतम ३५ र न्यूनतम ३१ अंक दिएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*