हेटौंडामा प्रदेश लिग फुटबल सुरु, काठमाडौं विजयी

साझाकुरा
२०८१ पुष ११, बिहीबार ११:३१

हेटौंडा- हेटौंडामा दोश्रो संकरणको बागमती प्रदेश फुटबल लिग सुरु भएको छ । बुधवार भएको उद्घाटन खेलमा चित्लाङ एफसी काठमाडौंले बिजयी सुरुवात गरेको छ ।हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३–० ले पराजित गरेको हो । समूह ‘ए’ को पहिलो खेलमा काठमाडौंलाई सहज जित दिलाउन अंकित रास्कोटीले ह्याट्रिक गरे । उनले खेलको ६, २० र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलमा रास्कोटी नै म्यान अफ द म्याच चुनिएका छन् ।

लिगमा आज बिहीवार दुईवटा प्रतिस्पर्धा हुने म्याच कमिसनर छवि सुबेदीले जानकारी दिए । आज दोलखा र नुवाकोटको पहिलो खेल र दोस्रो खेलमा भक्तपुर र सिन्धुली भिड्ने छन् । लिगकम नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनल पुग्ने दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउन पाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए ।गतवर्षको पहिलो संस्करणको उपाधि धादिङले जितेको थियो । प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः नगद २ लाख र एक लाख नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लिगमा यसवर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौ, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतरास्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी छन् ।हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनमा उपमहानगरपालिकाले आवश्यक सबै सहयोग पु¥याएको बताएकी छन् ।

उद्घाटन कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, हेटौंडा उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपाने, १० नम्बर वडाका वडा अध्यक्ष फुर्वा दोर्जे लामालगायतको आतिथ्यता रहेको थियो ।

लिगलाई निको अस्पतालको निःशुल्क सेवा

यस प्रदेश लिग फुटबल प्रतियोगितालाई निको अस्पताल हेटौंडाले सहयोग गरेको छ । प्रतियोगिताको खेल मैदानमा निको अस्पतालले आवश्यक स्वास्थ्यकर्मी र औषधी निःशुल्करुपमा उपलब्ध गराएको हो ।अस्पतालका सञ्चालक सुधिर दाहालले खेलकुद क्षेत्रमा निको अस्पतालले विगतको समयमा पनि सहयोग गरिरहेको स्मरण गरे । ‘हाम्रो पनि सामाजिक उत्तरदायित्व हुन्छ । सोही अनुसार अस्पतालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।’, दाहालले भने । निको अस्पताल हेटौंडा–२ स्थित हेडम्बी हाइटमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*