मैत्रीपूर्ण भलिवलमा फाइनल समिकरण पूरा

साझाकुरा
२०८१ पुष १३, शनिबार १३:४२

हेटौंडा-मनहरी गाउँपालिकाले आयोजना गरेको वडास्तरीय शिक्षक मैत्रीपूर्ण भलिवल प्रतियोगितामा मनहरी–४ र ३ को फाइनलको समिकरण तय भएको छ । शुक्रबार रोटरी माविमा आयोजना गरिएको खेलमा मनहरीका १० वटा टिमले सहभागिता जनाएका थिए । वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने शिक्षकबीच खेलाइएको खेलमा ६ नं. वडाबाट २ वटा र बाँकी वडाबाट एक÷एक टिम सहभागी थिए । सेमिफाइनलमा मनहरी ४ ले ८ नं. वडाको टिमलाई र ३ नं.ले ७ नं. वडाको टिमलाई पराजित गरी फाइनल यात्रा तय गरेका थिए ।

मनहरी गाउँपालिका शिक्षा समितिका संयोजक तथा मनहरी–३ का अध्यक्ष अनन्तप्रकाश अर्यालको सभाध्यक्षता, गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुखआतिथ्यतामा कार्यक्रम भएको हो । शिक्षकहरुको क्षमता विकाससँगै खेलकुदलाई बढावा दिने उद्देश्यले आयोजित भलिबल प्रतियोगिताको फाइनलमा ३ र ४ नम्बर वडा प्रवेश गरेका हुन् ।प्रतियोगितामा प्रत्येक वडाको एक÷एक टिम र ६ नम्बरको २ वटा गरी १० टिमको सहभागिता रहेको थियो । सेमिफाइनलमा ३ नम्बरले ७ लाई २५–१९, २५–२७ र १५–११ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

४ ले ८ नम्बरलाई २५–१३ र २५–१६ को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । ३ नम्बर अध्यक्ष कालाखेतीले शिक्षकलाई पढाईसँगै खेलकुदमा समेत जोड्ने उद्देश्यले भलिबलको आयोजना गरिएको बताए । यस प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने योजना रहेको उनको भनाई थियो । शिक्षकले खेल्दा विद्यार्थीलाई समेत हौसला मिल्ने कालाखेतीको दावी थियो ।

प्रतियोगिताको उद्घाटनमा उपाध्यक्ष सीता पुलामीमगर, ७ नम्बर वडाअध्यक्ष ठाकुरराम तितुङ, ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, शिक्षा शाखाप्रमुख प्रदीप पराजुली, रोटरी मावि ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको फाइनल खेल १५ गते हुने गाउँपालिका स्रोतशिक्षक विदुरथापाले जानकारी दिए ।

यस्तै मनहरी गाउँपालिकाले पुस १३ गते शनिबारदेखि राष्ट्रपति रिनङ शिल्ड प्रतियोगिता संचालन गर्ने भएको छ । गाउँपालिकाभित्रका करिब १८ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाउने खेल पुस १५ गते समापन हुने बताइएको छ । विद्यालयस्तरका सबैभन्दा ठूलो खेलकुद प्रतियोगिातको तयारी पूरा भएको रोटरी माविका सहायक प्रधानाध्यापक साधुराम रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*