बागमती प्रदेश लिगः मकवानपुर र चितवनको जित
हेटौंडा- हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुर र चितवन विजयी भएका छन् । मकवानपुरले धादिङलाई र चितवनले काभ्रेलाई पराजित गरेको हो ।हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बागमती प्रदेश फुटबल संघको आयोजना भएको दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत् मकवानपुरको पदमपोखरी युथ क्लबले धादिङको धुनीवेसी युथ समाजलाई २–१ गोलले हराएको हो ।
पदमपोखरीका लागि खेलको ३८ औं मिनेटमा प्रितम स्याङ्बोले गोल गरे । खेलको ७९ औं मिनेटमा धुनिवेसीका टिम क्याप्टेन श्रीकृष्ण रेग्मीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।खेलको ८४ औं मिनेटमा पदमपोखरीका महेश वाइबाले गोल गर्दै टिमलाई जित दिलाएका थिए । समूह ‘ग’ बाट जित निकालेसँगै पदमपोखरीले प्रतियोगितामा कुल ३अंक जोडेको छ । पदमपोखरीले पुस १४ गते समूह चरणको दोस्रो खेलमा ललितपुरको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पहिलो खेलमा हार व्यहोरेसँगै अंकविहीन बनेको धुनिवेसीले ललितपुरसँगै प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार भएको अर्को खेलमा चितवनको भरतपुर फुटबल क्लबले काभ्रेको माउण्ट एभरेष्टलाई २–१ गोल अन्तरले पराजित गरेको छ । भरतपुरको तर्फबाट खेलको ५ औं मिनेटमै अञ्जन चौधरीले गोल गरे । खेलको ६६ औं मिनेटमा सन्दीप केसीले गोल थपे । खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले सान्त्वना गोल फर्काए । पराजित भएसँगै काभ्रेको माउण्ट एभरेष्ट प्रतियोगिताबाट बाहिरिएको छ । काभ्रे समूह चरणको २ खेलमा नै पराजितभएको थियो ।
काभ्रे यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबसँग पराजित भएको थियो । चितवन ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । चितवनले काठमाडौंको चित्लाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा ११ जिल्लाको टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।
प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः नगद २ लाख र एक लाख नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा यसवर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टार युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौ, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतरास्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी भएका छन् ।