मकवानपुर बहुमुखी क्याम्पसमा बिजनेस इन्क्युबेशन सेन्टर स्थापना

साझाकुरा
२०८१ पुष १३, शनिबार १३:४९

हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसमा स्थापित बिजनेस इन्क्युबेशन सेन्टरको उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शुक्रबार सेन्टरको उद्घाटन गरेका हुन् ।मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताए । उनले व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै यस सेन्टरले व्यावसायिक जनशक्ति उत्पादन गर्ने र विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले समयअनुकूल गुणस्तरीय, व्यावहारिक र व्यावसायिक शिक्षालाई अंगाल्नुुपर्ने अनिवार्य आवश्यकता रहेको बताए ।

लामाले वर्तमान समयमा परम्परागत शैलीमा दिइएको ज्ञानले अर्थ नराख्ने भन्दै शिक्षालाई समयअनुसार परिवर्तन गरी व्यावसायिक र रोजगारमुखी बनाउनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न, केही छैन भन्ने सोच बदल्न जरुरी रहेको बताए । क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि क्याम्पसमै सीप सिकाई आत्मनिर्भर बनाउने तथा रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सेन्टरले व्यावसायिक जनशक्ति उत्पादन गरी देशमै बसेर केही गर्न सक्छौँ भन्ने सोचको विकास गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख एम सिलवालले विद्यार्थीमा पढाइसँगै सीप र रोजगारीको सृजना गर्ने, क्षमता अभिवृद्धिसँगै रोजगारी सृजना गर्ने, रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ इक्युवेशन सेन्टर सञ्चालन गरिएको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्यलगायत सदस्यहरु, शिक्षक, विद्यार्थीलगायत क्याम्पसका कर्मचारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*