मुख्यमन्त्रीले गाउँले रोज्दा सामाजिक मन्त्रीले श्रीमानलाई अध्यक्ष बनाइन्
हेटौंडा- बागमती प्रदेशका विभिन्न निकायमा गरिने नियुक्तिमा राजनीतिक भागबण्डाबाट पद बाँडफाँड भइरहेको छ । दीर्घकालीन असर पार्ने नियुक्तिमा शासकहरुको कतिसम्म मनमौजी चल्छ ? भन्ने बुझ्न हालसालैको एउटा नियुक्तिलाई हेरे पुग्छ ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले प्रदेश सरकारका महत्वपूर्ण र संवेदनशील निकायहरुलाई खेलौना जसरी पद बाँडेका छन् । मुख्यमन्त्री लामाले प्राविधिक शिक्षा दिएर जनशक्ति उत्पादन गर्ने निकाय प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिईभिटी)मा आफ्नो नजिकको कार्यकर्ता रोज्दा मन्त्री खड्गीले संवेशनशील क्षेत्र अस्पतालमा आफ्नै श्रीमानलाई नियुक्ति दिलाएकी छन् ।
बागमती प्रदेशका निकायहरुको रिक्तपदमा धमाधम नियुक्ति चलिरहँदा दुई दलीय सरकारका नेपाली कांग्रेस र नेकपा एमालेलाई भागबण्डा मिलाएर ती सबै भइरहेका छन् । बागमतीको रिक्त पदमा दुई दलीय भागबण्डा मात्रै लागेको छैन । पछिल्लोपटक भएको दुई निकायको नियुक्तिमा मुख्यमन्त्री लामा र कांग्रेस नेतृसमेत रहेकी सामाजिकमन्त्री खड्गीले नियुक्तिमा बाँडफाँड गरेको चर्चा बागमती सरकारभित्र व्यापक चलेको छ । अझै, कांग्रेसभित्र मुख्यमन्त्री र खड्गीको आलोचना भएको छ ।
बागमती प्रदेशको ११ वटा प्रादेशिक अस्पतालले अध्यक्ष पाउँदा टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्षमा काठमाडौं–१८ घर भएका प्रकाश खड्गीले नियुक्ति पाए । उनलाई स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ८ पुसमा नियुक्त गरिएको थियो । खड्गी समाजिका विकासमन्त्री हरिप्रभाका श्रीमान हुन् । बागमतीका एक मन्त्रीकाअनुसार प्रकाशसँग स्वास्थ्य क्षेत्रको कुनै अनुभव छैन । श्रीमती मन्त्री भएकै कारण उनले अस्पतालको अध्यक्ष पाएको एक मन्त्रीले बताए ।
यस्तै, ११ पुसमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभिटी)को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त ग¥यो । सिटिईभिटीको निर्देशन नियुक्ति गर्ने सम्बन्धमा शिक्षा हेर्ने सामाजिक विकासमन्त्री खड्गीले मन्त्रिपरिषद्मा सिफारिस गरेकी हुन् । नुवाकोट, म्यागङ गाउँपालिका–४ घर भएकी लामा पालिकाको निवर्तमान उपाध्यक्ष हुन् । उनी मुख्यमन्त्री लामाको नजिकको कार्यकर्ता हुन् ।
‘उहाँहरुको नाताबारे जानकारी भएन । तर, मुख्यमन्त्री ज्यूको नजिकको कार्यकर्ता हुनुहुन्छ’ नुवाकोट कांग्रेसका एक नेताले भने । सामाजिक विकास मन्त्रालयको प्रमुख कार्यकारीनिर्देशक छनोट तथा सिफारिस समितिले निर्देशक नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । समितिको संयोजक मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे छन् । सिफारिस समितिले नुवाकोटकी लामा, मध्यपुरठिमी नगरपालिकाका बद्रीप्रसाद दाहाल र चितवन भरतपुरका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।
बागमतीका एक मन्त्रीका अनुसार सामाजिक विकासमन्त्री खड्गीले भक्तपुरका दाहालको नाम अगाडि सारेकी थिइन् भने मुख्यमन्त्री लामाले आफ्नै कार्यकर्ताको पक्ष लिएका थिए । ‘मैले सुनेअनुसार मन्त्रीले भक्तपुरको मान्छे र मुख्यमन्त्रीले नुवाकोटको लामा रोज्नुभएको थियो । पछि नियुक्ति लामाको भयो’ एकमन्त्रीले साझाकुरासँग भने, ‘आफ्नो श्रीमान अस्पतालको अध्यक्ष बनाउन मन्त्री नै हुनुपर्ने गरी सन्देश गइरहेको छ । त्यसमा मुख्यमन्त्रीज्यूले आफ्नो जिल्लाकै मान्छेलाई मिलाएर नियुक्ति दिनुभयो । यो साह्रै गलत छ’ उनले थपे । मुख्यमन्त्री लामाले पनि नियुक्तिमा बढी चासो दिइरहेको विषय राम्रो नभएको उनको भनाई छ । लामाले यसअघि प्रदेश खेलकुद विकास परिषद्मा पनि नुवकोटकै दीपक लामालाई नियुक्ति गरेका थिए ।
यसैगरी, प्रदेशको स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संशोधन जारी भएपछि ८, ९ पुस र २७ मंसिरमा गरेर सिन्धुली र हेटौंडा अस्पतल बाहेक ११ वटा जिल्लाका अस्पतालमा अध्यक्ष नियुक्त गरेको थियो । हेटौंडा अस्पतालको सञ्चालन तथा व्यवस्थापनको अध्यक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार हुने कानुनी व्यवस्थाले यहाँ नियुक्ति भएन । सिन्धुलीमा नेपाली कांग्रेसबाट नाम सिफारिस नभएकोले नियुक्ति हुन नसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमन्त्री एमालेका किरण थापा छन् । सिन्धुलीसहित १२ वटा अस्पतालका लागि कांग्रेस र एमालेबीच ६–६ जनाको भागबण्डा लागेको स्वास्थ्य मन्त्रालय स्रोतले साझाकुरालाई जानकारी दिएको छ । एमालेको भागमा चितवन, धादिङ, काभ्रे, रामेछाप, दोलखा, ललितपुर परेको थियो । कांग्रेसको भागमा सिन्धुलीसहित नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरको अस्पताल हात लागेको थियो । ‘भागबण्डाअनुसार कांग्रेसले पाएको अस्पतालमा अध्यक्ष नियुक्तिका लागि मुख्यमन्त्री लामाले व्यवस्थापन गर्नुहुन्छ । उहाँहरुले कसको नाम पठाउनुहुन्छ भनेर हाम्रो चासो रहँदैन् । नाम आएपछि नियुक्त गर्ने हो,’ मन्त्रालय स्रोत भन्छ ।
मन्त्रीस्तरीय निर्णयबाट भक्तपुर अस्पतालमा प्रदेशका पूर्वसांसद शशीजंग थापा, दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल, त्रिशुली अस्पतालमा उपेन्द्र बुढाथोकी, बकुलर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य नियुक्त भएका छन् । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरी, रसुवा अस्पतालमा विवश श्रेष्ठ, काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरे, काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा प्रकाश खड्गी, रामेछाप अस्पतालमा यमकुमार पाख्रिन र धादिङ अस्पतालमा राधिका सापकोटाको नियुक्ति भएको हो ।