कैलाशमा पूर्णसरसफाई उन्मुख टोल अभियान सुरु

साझाकुरा
२०८१ पुष १४, आईतवार ०९:४०

हेटौंडा-खानेपानी तथा सरसफाइका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकामा रहेका विभिन्न टोलबाट पूर्णसरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु गरेको छ ।मकवानपुरमै पहिलोपटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्णसरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएकोमा शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्णसरसफाईउन्मुख टोल घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताए । शुक्रबार कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्णसरसफाईउन्मुख घोषणा गरिएको हो ।

कैलाश–९ मा वडाध्यक्ष भुवनसिं घलानको अध्यक्षतामा भएको घोषणासभामा गाउँपालिका अध्यक्ष मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मोक्तानले विकट गाउँमा खानेपानीको पहुँचबाटै टाढा रहेको नागरिकलाई खानेपानी र सरसफाईसम्बन्धी कामगर्नु चुनौतीपूर्ण भएता पनि आरआरएनसँगको सहकार्यमाटोलटोलमा काम गर्न सफल भएको बताए । हरेक टोललाई पूर्णसरसफाई र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

मकवानपुरमै पहिलोपटक यो अभियान सुरु गरेको बताउँदै अध्यक्ष मोक्तानले भने अब टोलबाट सुरु भएको अभियान वडा हुँदै पालिकासम्म पुग्ने र वडा घोषणासँगै पालिका घोषणा गर्ने लक्ष्य रहेको बताए । हामीले यस अघि मकवानपुरमै पहिलोपटक चेली प्रोत्साहन कार्यक्रम सुरुवात गरेका थियौं । अहिले खानेपानी र सरसफाईसम्बन्धी अभियान सुरु गरेको उनले बताए ।

नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)सँगको सहकार्य र कैलाश गाउँपालिकाले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुरको पहाडीक्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धिकरण र व्यवहार परिवर्तन परियोजना अन्तर्गत आरआरएनले कैलाशमा अभियान चलाएको हो । गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।

हामीले अभियानको क्रममा घोषणाका लागि स्वच्छ र सफा घरका सूचकको निर्धारण गरी सूचक पूरा गर्नका लागि काम गरेको अध्यक्ष मोक्तानले बताए । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, पर्याप्त पानीसहित चर्पीमा सरसफाई सामग्री भएको, खुलास्थानमा दिशा नभएको, बच्चाको दिशाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, आरआरएनका कार्यक्रम संयोजक लीलबहादुर कार्कीलगायतले आफ्ना भनाई राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*