दश जनाको मोतियाविन्दुको शल्यक्रिया
हेटौंडा-कैलाश गाउँपालिका बस्ने दश जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ । गाउँपालिका र हेटौंडा सामूदायिक आँखा अस्पतालको सहकार्यमा भएको शिविरमा मोतियाबिन्दु भेटिएकाहरुको शल्यक्रिया गरिएको हो । गत २२ मंसिरमा कैलाशको भाल्टारमा आँखा शिविर भएको थियो ।शिविरमा १६० जनाले आँखाको परीक्षण गरेका मध्ये २० जनामा मोतियाविन्दु भएको कैलाश ग्रामीण आँखा उपचार केन्द्रका नेत्रसहायक सरोजकुमार मण्डलले बताए । शल्यक्रिया गरिएका बिरामीलाई शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले कैलाश–९ निवासी खीलकुमारी पाण्डेको आँखाको पट्टि खोल्दै बिरामीसँग आगामी दिनमा गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले एक महिनापछि पुनः परीक्षणपश्चात लगाउनुपर्ने चश्मा आवश्यकता अनुसार गाउँपालिकाले नै उपलब्ध गराउने बताएका छन् ।
भौगोलिक दृष्टिले विकट भएकाले पनि आँखा परीक्षणमा पहुँच नपुगेको खण्डमा पालिकामा नै उपचार केन्द्र स्थापना गरेसँगै नियमित हरेक बुधबार वडामा रहेका स्वास्थ्यचौकीमा आँखा परीक्षण गर्दै आइरहेको बताए । आमाबुबा लक्षित कार्यक्रम मात्र नभई प्रत्येक विद्यालयमा समेत आँखा परीक्षणको अभियान सञ्चालन गर्दै आइरहेको अध्यक्ष मोक्तानले बताए । शल्यक्रियाको लागि आवतजावत सुविधा दिनुका साथै लेन्स र चश्मा पनि पालिकाको बजेटबाट खरिद गरी निशुल्क वितरण गर्दै आइरहेको उनले बताए ।
दश जनाको शल्यक्रिया पछि बाँकी दश जनाको शल्यक्रिया अर्को चरणमा हुने गाउँपालिकाले जनाएको छ । हालसम्म आँखा शिविरबाट १५ सय भन्दा बढीले लाभ लिइसकेका छन् । पाँच सय भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया भइसकेको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कृष्ण यादवले बताए । कैलाश–९ निवासी खीलकुमारी पाण्डेले मोतियाविन्दुको शल्यक्रिया गरेकोप्रति खुशी व्यक्त गरिन् ।