‘प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन’

साझाकुरा
२०८१ पुष १७, बुधबार ११:१२

हेटौंडा- नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पनि संविधान पुनरावलोकन हुनुपर्ने बताएका छन् ।
संविधान संशोधन गरेर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाइने थापाको भनाई छ । ‘प्रदेशका दिनुपर्ने अधिकार संघीय सरकारले दिएको छैन । सबै अधिकार केन्द्रमा
राखिएको छ । अधिकार तल जाला की भनेर बाटोबाटोमा गौंडा थापिएको छ’ उनले भने, ‘संघीयतामा जाने अनि प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भन्ने हुँदैन । अधिकार तल पठाउनका लागि संविधान संशोधन गर्नुपर्छ ।’ उनले भने ।

हेटौंडामा मंगलबार ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पुनरावलोकनबाट प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउन चाहेको बताउँदै संविधान संशोधनका विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । कांग्रेस–एमालेको नेतृत्वमा माओवादी र मधेशवादी दलको सम्झदारीमा संविधान पुनरावलोकन हुने उनको भनाई छ । बिग्रिएका र देखिएका सबै समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको औंल्याएका छन् ।

‘संविधानको पुनःलेखन गर्छाैं । संविधानलाई समयसमयमा पुनरावलोकन गर्नुपर्छ । सोचेको र भइरहेको बीचमा फरक के छ ? भनेर हेर्छाैं । संविधानका विषयमा माओवादी र मधेशवादी दलबीच छलफल गरेर समझदारीमा अगाडि बढ्छौं’ उनले भने । समावेशिता, लोकतन्त्र, संघीयता, गणतन्त्र, बहुजाति, बहुधर्मका सामूहिकताका विषयमा संविधान संशोधन हुन नसक्ने पनि उनले स्पष्ट पारे ।

महामन्त्री थापाले कानुनबाटै बाँध्नुपर्ने भन्दै सरकारको आकार र बजेटको सीमालाई संविधानमै उल्लेख गर्नुपर्ने पनि बताए । ‘संविधानले २५ भन्दा बढी मन्त्रालय बनाउन नपाइने नभनेको भए अहिले ५० जना जति मन्त्री हुन्थे । त्यसैले संविधान, कानुनबाटै बाँधिनुपर्छ’ थापाको जोड छ । बजेटको सीमा निर्धारणका सम्बन्धमा पनि संविधान पुनरावलोकन हुने उनको भनाई छ ।

‘२, ५ लाखको योजना सहरी मन्त्रालयले राखेको छ । यो बजेट संघ सरकारले राख्नु हुँदैन भन्छु । हाम्रो प्राथमिकता नै भएन । प्राथमिकताअनुसार काम गर्न संघीयतामा गयौं, व्यवहारमा गरेनौं’ उनले भने । निर्वाचन प्रणालीमाथि पनि पुनरावलोकन हुनुपर्ने उनको भनाई छ । बहुमत ल्याउने पार्टीलाई ५ वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने थापा बताउँछन् ।नेता थापाले कांग्रेस जहिल्यै मेलमिलापको नीतिमा रहेको दाबी गरे । थापाले बिपि र गणेशमानहरु मृत्युदण्डको मुद्दा बोकेर नेपाल फर्किएको प्रश· निकाल्दै दक्षिण एसियाका देशहरु विभाजित भइरहेको घटनाबाट नेपाललाई बचाउन पर्छ भनेर उनीहरु स्वदेश फर्किएको अवस्थालाई मेलमिलाप दिवसका रुपमा मनाइएको उनको भनाई छ । २०७२ को संविधान निर्माण, शान्तिसम्झौता कांग्रेसको मेलमिलाप नीतिबाट सम्भव भएको उनको दाबी छ ।

‘२०७२ को संविधान बनाउँदा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमाले मिल्दा दुईतिहाइ पुग्छ, माओवादी सडकमै रहोस् भनेको हो । तर, कांग्रेसले मानेन । माओवादीलाई पनि सँगै लैजानुपर्छ भनेर मेलमिलापको नीति लिइएको थियो’ थापाले भने, ‘माओवादी द्वन्द्व अन्त्य गर्दै गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा शान्तिसम्झौता गरेर मेलमिलापको नीति लिएको हो । हामी नेपालको ठूलो र मूल शक्ति हो ।’

१५ औं महाधिवेशनका बारेमा धेरै कुरा गरिरहन आवश्यक नभएको थापाले बताए । ‘महाधिवेशन समयमा हुन्छ । महाधिवेशनको चिन्ता अहिले छोडौं, समयमै हुन्छ । बरु कसले नेतृत्व लिन्छ भनेर अहिलेदेखि सोचौं’ उनले भने । देशभित्र एउटा उकुसमुकुस र छट्पटी रहेको थापाले औंल्याए । ‘कांग्रेसले अँध्यारोबाट उज्यालोमा ल्यायो, हिंसाबाट देशलाई बाहिर निकाल्यो, अन्यायपूर्ण पर्खाल भत्कायो अब विकास चाहिएको छ भनेर जनता भनिरहेका छन् । विकासको नेतृत्व कांग्रेसले लिनुपर्छ भनेर देशले भनिरहेको छ’ उनी भन्छन् ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेशसभापति ईन्द्रबहादुर बानियाँले इच्छाले नभई राजनीतिक स्थायित्व र जनताको निराशालाई चिर्न अहिलेको गठबन्धन बनेको बताए । कांग्रेस र एमालेको सरकार पनि टिक्न नसक्दा व्यवस्था माथि संकट पैदा हुने उनको भनाई छ । सभापति बानियाँले अहिलेको सरकारले नराम्रो काम नगरेता पनि राम्रो काम पनि केही गर्न नसकेको बताए । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पूर्वसभापतिहरु, पार्टीमा योगदान पु¥याएका अग्रजहरुलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*