राक्सिराङमा चेपाङ संग्रहालय चैतभित्र तयार हुँदै
हेटौंडा- चेपाङ समुदायको पहिचान र संस्कृतिसँग जोडिएका सामानहरु संग्रहालयमा अवलोकनका लागि राख्न राक्सिराङ गाउँपालिकाले संग्रहालय भवन निर्माण गरिरहेको छ ।
चेपाङ बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायमा परापूर्वकालदेखि प्रयोग गर्दै आएको तर, लोपोन्मुख अवस्थामा रहेका सामग्रीहरु अवलोकनका लागि राख्न चेपाङ संग्रहालय निर्माण गरेको हो । उनीहरुले विगतमा प्रयोग गरेका तर, अहिले लोप हुने अवस्थामा पुगेका सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले ठूलै लगानीमा संग्रहालय निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
राक्सिराङ गाउँपालिका–५ चैनपुरमा ३ करोड ६३ लाख रुपैयाँको लागतमा संग्रहालय भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको अध्यक्ष मल्लले बताए । तीन तले भवनको तल्लो तलामा चेपाङ समुदायले विगतदेखि वर्तमानसम्म प्रयोग गर्दै आइरहेका र उनीहरुको संस्कृति र पहिचान झल्कने सामग्री राखिने भएको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र आगामी चैतसम्ममा संग्रहालय निर्माणकार्य पूरा हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् ।
राक्सिराङ गाउँपालिकाको केन्द्रसमेत रहेको चैनपुरमा विगतमा चेपाङ संग्रहालय संचालनमा थियो । अवलोकन र अध्ययनका लागि विभिन्न स्थानबाट मानिसहरु आउने गर्थे । २०७२ सालमा आएको भूकम्पले संग्रहालय भवनमा क्षति पु¥याएको थियो । भवनको मर्मत र सम्भारकार्य हेटौंडाका दिलीप वानियाँको आर्थिक सहयोगमा रोटरी क्लब अफ मकवानपुरले गरेको थियो । बिगतमा सुरुवात मात्रै भएको र त्यसैलाई ब्यवस्थित बनाउनका लागि भवन निर्माणकार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
भवन जीर्ण हुँदै गएकाले २०७८ साउनदेखि नयाँ भवन निर्माणकार्य सुरु गरेको हो । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा चैनपुरमा २०६७ सालदेखि चेपाङ संग्रहालय स्थापना गरिएको थियो । चेपाङ समुदायका पूर्वजहरुले प्रयोग गर्ने जाबीझोला, हलो, कुटो, कोदालो, सिप्रिङ, भुर्लुङ, ठेकी, कोसी, घुमलगायत सामग्री राख्ने योजना रहेको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ । चेपाङ जातिको भेषभूषा, आभूषण, रीतिरिवाजमा प्रयोग गरिने सामग्रीहरु राखिने योजना रहेको बताइएको छ ।
चेपाङ समुदायको कला, साहित्य, भाषा, संस्कृति, रहनसहन, भेषभूषा, परम्परा, दैनिक जीवनयापनका कुरा लोप हुने अवस्था आउन नदिन गाउँपालिकाको आफ्नै स्रोतमा संग्रहालय भवन निर्माण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले साझाकुरालाई बताए । चेपाङ समुदायले खोरियामा उत्पादन गरेका कन्दमूल, गेडागुडी, चिउरीको घीउ, मह, अंमृसोको कुचो, खरेटो आदि बिक्री गर्ने कोसेली घरको रुपमा पनि संग्रहालयलाई प्रयोग गरिने गर्तौलाले बताए ।
आन्तरिक पर्यटकका लागि चेपाङ संस्कृतिबारे जानकारी गराउने र अर्गानिक बस्तु कोसेलीका रुपमा लिएर जानसक्ने गरी संग्रहालय संचालनमा ल्याइने योजना रहेको छ । बिगतमा चेपाङ विकास कार्यक्रम अन्र्तगत संग्रहालयको सुरुवात गरिएको भएपनि मुलुक संघीयतामा गएपछि स्थानीय सरकारको जिम्मेवारीमा आएको हो । २०७८ साउनबाट निर्माण सुरु भएको संग्रहालय भवन कलात्मक रहेको छ ।
चेपाङ समुदायले जंगलमा पाइने कन्दमूल र खोलाको माछा मारेर दैनिक जीवनयापन गर्दै आएका छन् । नेपालमा करिब ७२ हजार जनसंख्या रहेको चेपाङ समुदायको मुख्य बसोबास भने चितवन, धादिङ, मकवानपुर र गोर्खा हो । पछिल्ला वर्षहरुमा अधिकांश चेपाङ समुदायले आफ्नो मौलिक र परम्परागत धर्म परिवर्तन गरी क्रिश्चियन धर्ममा लागेका छन् ।