जापान–कोरियाबाट पैसा पठाएर गाउँका वृद्धवृद्धालाई न्यानो कपडा
हेटौंडा- मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा बुधबार ४१ जना वृद्धवृद्धा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले ९८ वर्षका पदमबहादुर खड्कालाई न्यानो कपडा हस्तान्रण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । जापान—कोरिया समाज मकवानपुरगढी नामक संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । विदेशमा बसेर गाउँघरका बाआमालाई सम्झेर सहयोगी हात बढाएको प्रति आभार व्यक्त गर्दै अध्यक्ष स्याङ्तानले युवाले विदेशमा सिकेको सीपलाई अब गाउँघरमा प्रयोग गर्नुपर्ने बताए ।
कृषि र पशुपालनक्षेत्रमा राम्रो आम्दानी लिन सकिने भन्दै विदेश भन्दा गाउँमै केही गर्नुपर्ने उनले आग्रह गरे । त्यस्तै वडाअध्यक्ष कृष्णप्रसाद बजगाईले वडामा जेष्ठनागरिकको संख्या धेरै रहेता पनि सामाजिक सुरक्षाभत्ता खानेमध्ये गाउँघरमै बसोबास गर्नेलाई पहिलो प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिएको बताए । संस्थासँग वडाले आवश्यक समन्वय गरिरहेकोले छुटेका बाआमालाई अर्को चरणको कार्यक्रममा समेट्ने बताए ।
जेष्ठनागरिक पदमबहादुर खड्काको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष स्याङ्तानको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा वडाअध्यक्ष बजगाई, वडासदस्यहरु जीतबहादुर घलान, रणकुमारी परियार, शेरबहादुर लामा, वडासचिव सागर लामालगायतको आतिथ्यता रहेको थियो ।‘हाम्रो यो पहिलो प्रयास हो, आगामी दिनमा थप सहयोग प्रदान गर्ने छौं’ कार्यक्रम संयोजक अशोक स्याङ्तानले भने । हाल ५ जना जापान र दुईजना दक्षिणकोरियाका गरी सात जनाको सहयोगमा न्यानो कपडा प्रदान गरिएको उनले बताए । आगामी दिनमा थप साथीहरुलाई पनि समेट्दै गाउँपालिकाभित्रका आर्थिक विपन्न परिवारलाई समेत हुने गरी सहयोग गर्ने तयारी रहेको स्याङ्तानले बताए ।
यस अभियानलाई व्यवस्थित बनाउन सोमबहादुर स्याङ्तानको भूमिका महत्वपूर्ण रहेको उनले सम्झिए । यस अभियानमा व्यवस्थापक सोमबहादुर (जापान), कार्यक्रमसंयोजक अशोक (जापान), सहयोगीहरुमा जापानबाट एञ्जल दाहाल, निरोज पुडासैनी र अविन सुवेदी, दक्षिण कोरियाबाट सन्तोष स्याङ्तान र सूर्यबहादुर लुङ्बाले सहयोग गरेको वडाअध्यक्ष बजगाईले जानकारी दिए । सबै सहयोगी हातहरु वडा नं. ६ निवासी रहेका छन् ।