मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते
हेटौंडा- मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आतंक सक्किन नपाउँदै गैंडाले पनि त्राश बनाएको छ । बाघले एकजनाको ज्यान लिएको तीन दिनपछि मनहरीमा गैंडाले एकजनालाई घाइते बनाएको छ ।घाँस काट्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरखोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा जंगली जनावर गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् । वनमा घाँस काट्न तथा गोबर टिप्न गएकी महिलाला गैंडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवनको राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् ।
घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ । उनको स्वास्थ्यअवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र चितवनको सीमाना हो । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई हिजो मंगलबार साँझ नियन्त्रणमा लिइएको थियो ।
चारवटा हात्ती र चितवन र पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बा मृतअवस्थामा आइतबार राति करिब १० बजे घरनजिकैको बारीमा भेटिएकी थिइन् । बाघले सोमबार बिहान बसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर ७ वटा बाख्रा मारेको थियो । दुईवटा घटनापछि बसन्तपुरबासी त्रसित बनेका थिए ।