गलैंचा कारखानामा चरम बालश्रमशोषण, ८ जनाको उद्दार
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने चेपाङ र तामाङ समुदायका बालबालिका बेचिने क्रम अझसम्म पनि रोकिएको छैन । पछिल्लो समयमा राक्सिराङका बालबालिका बाराको गलैंचा कारखानामा जोखिमपूर्ण श्रममा बेचिएको घटना सार्वजनिक भएको छ ।जीतपुरसिमरा उपमहा नगरापालिका–१५ डुमरवानास्थित सुष्मा गलैंचा उद्योगमा १४ वर्षदेखि १७ वर्षसम्मका ३ बालिका र ५ बालक गरी ८ बालबालिकालाई उद्दार गरिएको छ । श्रम तथा रोजगार कार्यालय वीरगंज, जीतपुरसिमरा उपमहानगरापालिका, सिविन नेपाल, बालहेल्पलाइन १०९८ मकवानपुर सहितको टोलीले बालश्रमिकमको उद्दार गरी बालहेल्पलाइन हेटौडाको आवासमा ल्याएको हो ।
राक्सिराङ गाउँपालिका–१ को १४ वर्षको १ जना, राक्सिराङकै १६ र १७ वर्षका २ बालक, बारा जिल्ला निजगढ नगरपालिकाको १३, १५ र १७ वर्षका ३ जना बालिका र निजगढकै १५ र १७ वर्षका २ जना बालक उद्दार गरिएका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का सोमबहादुर बुलनले आफ्नो १४ वर्षीया छोरालाइ गलैंचा कारखानाबाट उद्दार गरिदिन बालहेल्पलाइन १०९८ मा निवेदन दिएपश्चात बालकलाइ उद्दार गर्न जाँदा थप बालबालिका पनि उद्दार गरिएको हो ।
अनुगमनका क्रममा बालबालिकालाई ठेकेदारमार्फत् काममा लगाइएको, नेपाल सरकारले तोकेबमोजिमको तलव नदिइएको, दिनमा १६ घण्टासम्म काम लगाइएको, कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिवन्ध लगाइएको, बालबालिकाको खानपान, बसाइ अति निकृष्ट प्रकारको रहेको, चरम श्रमशोषण भएको, भने अनुसार काम नगर्ने बालबालिकालाइ यातना समेत दिन गरेको, जाडोको समयमा पनि न्यायो कपडाको ब्यवस्था नभएको अनुगमनका क्रममा पाइएको बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले बताए ।
अनुगमन टोलीमा श्रम तथा रोजगार कार्यालय वीरगंजका कार्यालय प्रमुख बलराम कुशवाह, जीतपुर सिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखाप्रमुख रमेश सुवेदी, रोजगार संयोजक मो.नसिमुल गनी र नगरप्रहरी सहायक निरीक्षक रविनकुमार खड्का सहितको टोली उद्दारको लागि गएको हो । गलैंचा कारखानामा अबैधरुपमा बालश्रममा बालबालिकालाई राखिएको उजुरीपछि सिविन नेपाल, बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्धक ज्ञवाली र कार्यक्रम अधिकृत सम्झना अधिकारी सहितको टोलीले उद्दार गरेको हो ।
अनुगमनपश्चात ८ जना बालबालिकालाइ उद्दार गरी जीतपुर सिमरा उपमहानगरपालिकामा ल्याइएको र नगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, विभिन्न शाखा प्रमूखहरु, नगरप्रमुख सचिवालयका उदय श्रेष्ठ, श्रम कार्यालयका प्रमुख, बाल हेल्पलाइनका प्रतिनिधि सहित बैठक गरिएको थियो । बालबालिकासँग प्रारम्भिक चरणको कुराकानी गरिएपश्चात यो घटनाको कानुनी प्रक्रियाको लागि श्रम तथा रोजगार कार्यालय वीरगंजसँग समन्वय गर्ने र परामर्श तथा संरक्षणको लागि बालहेल्पलाइन मकवानपुरमा पठाइएको जीतपुर सिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुवेदीले बताए ।
बालबालिकालाई बाल हेल्पलाइन १०९८ हेटौंडाको संरक्षणमा ल्याइएपश्चात परामर्शको काम भइरहेको, अभिभाकलाइ सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको बालहेल्पलाईन प्रबन्धक ज्ञवालीले जानकारी दिएका छन् । छिटो भन्दा छिटो यो घटनालाइ कानुनी प्रक्रियामा लैजान श्रम तथा रोजगार कार्यालयमा बालबालिका सहित अभिभावकलाइ उपस्थितिको लागि पहल गरिने बालहेल्पलाइनले जनाएको छ । निकृष्ट बालश्रमका घट्ना अझैसम्म कायमै रहेको भन्दै सिबिनले यस विषयमा स्थानीय सरकारका जनप्रतिनिधि सम्बेदनशील बन्नुपर्ने जनाएको छ ।