रातोमाटेमा चेकपोस्ट निर्माण गरिँदै, मुख्यमन्त्री, मन्त्रीबाट अनुगमन

साझाकुरा
२०८१ पुष २०, शनिबार १२:५४

हेटौंडा- बागमती प्रदेश सरकारले आफ्नो सीमाक्षेत्र प्रबेशनाकामा अत्याधुनिक चेकपोस्ट निर्माण गर्ने भएको छ । पहिलोचरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशबिन्दु पूर्वपश्चिम राजमार्गको रातोमाटेमा चेकपोस्ट निर्माण गर्न लागेको हो ।शुक्रबार हेटौंडा–१४ स्थित रातोमाटेमा मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, सुरक्षाप्रमुखहरुले चेकपोस्ट निर्माण स्थलको अनुगमन गरेका छन् । उनले स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माणस्थलको अनुगमन गरेका हुन् ।

प्रदेश सरकारले रातोमाटेसहित पहिलोचरणमा सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्न लागेको बताइएको छ ।दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा, तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा चेकपोस्ट निर्माण गर्न लागेको हो । चेकपोस्टमा सवारीसाधानको चेकिङका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने योजना सरकारको छ ।

‘बागमती प्रदेशको प्रवेशबिन्दुमा हामीले चेकपोस्ट निर्माण गर्न लागेका हौं । यसबाट आन्तरिक सुरक्षा अवस्था थप बलियो हुने अपेक्षा हामीले लिएका छौं,’ मुख्यमन्त्री लामाले भने । स्थानीय तहसँग समन्वय गरेर बिनाविवाद चेकपोस्ट निर्माण गरिने उनले बताए । उनले अन्तर्राष्ट्रिय सीमामा प्रदेश सरकार प्रवेश नगर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*