हेटौंडा बचतको २५ औं साधारणसभा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–७ मा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा भएको छ ।हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार भएको साधारण सभामा संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभाध्यक्षता रहेको थियो । अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पार्वती ढकालले वार्षिक योजना तथा बजेट साधारण सभामा पेश गरेका थिए । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमिति प्रतिवेदन पेश गरिएको थियो ।
७ हजार १ सय ४५ जना सेयरसदस्य रहेको संस्थाको सेयरपुँजी ४ करोड ७८ लाख ४३ हजार रुपैयाँ रहेको बताइएको छ । यस्तै संस्थाको कुल बचत ५४ करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ । लगानीमा रहेको ऋण रकम ५५ करोड २१ लाख, जगेडा कोष ३ करोड ५५ लाख, अन्य कोष १ करोड २६ लाख रहेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।
साधारणसभाको अवसरमा संस्थाले टिम टेलिभिजनका संवाददाता मनिल महतोलाई सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, असल ऋणी, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको सचिव गौतमले जानकारी दिए । संस्थाको हेटौंडा–८ कमाने, हेटौंडा–१६ चिसापानी र हेटौंडा–२ मा सेवाकेन्द्र रहेको छ ।