बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौंले जित्यो
हेटौंडा- बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ । शनिवार भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौं प्रतियोगिताको च्याम्पियन बनेको हो ।काठमाडौंको प्रतिनिधित्व गर्ने ‘चित्लाङ फुटबल क्लब’ले दोलखाको प्रतिनिधित्व गर्ने ‘टाइगर टिम तिखाताल’लाई ३–० गोलले पराजित गरेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा काठमाडौंका सुजित बुढाथोकीले २ गोल गरेका थिए । खेलको २५ औं मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाए ।
अन्तिम समयमा आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका थिए । ३–० गोलले पछि परेको दोलखाले खेल अवधिभर कुनैपनि गोल गर्न सकेन । खेलको म्यान अफ म्याच सुजित बुढाथोकी घोषित भएका छन् । लिग विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले १ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
काठमाडौंका सुजित बुढाथोकी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उत्कृष्ट गोलरक्षक काठमाडौंका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौंका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौंका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौंका रुपेश क्षेत्रीले प्राप्त गरे । उनीहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।