कृषि थोकबजारमा मन्त्रालय बसेपछि उपमहानगरको ध्यानाकर्षण
हेटौंडा- हेटौंडा–११ थानाभ¥याङस्थित राप्ती पुलनजिकै निर्माण गरिएको प्रादेशिक कृषि थोकबजारको प्रशासनिक भवनमा बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालय बसेपछि उपमहानगरपालिका असन्तुष्ट बनेको छ ।भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा रहेको बेला उपमहानगरले मन्त्रालय बसेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा उपमहानगरको गत आर्थिक वर्ष २०८०÷८१ को र चालू आव २०८१÷८२ को समीक्षा कार्यक्रममा तरकारी बेच्न बनाइएको भवनमा ‘जर्वजस्ती’ मन्त्रालय गएर बसेको विषयमा ध्यानाकर्षण भएको निर्णय गरेको हो । मन्त्रालय बसेको सम्बन्धमा छलफल गर्न नगरप्रमुख मीनाकुमारी लामाले कृषिमन्त्री प्रकाश श्रेष्ठसँग सोमबार भेट गरेकी थिइन् ।
सहमतिबिना नै कृषिजन्य वस्तुको बिक्रीवितरण प्रयोजनका लागि निर्माण गरिएको संरचनामा एक्कासी मन्त्रालय राख्नु राम्रो काम नभएको नगरप्रमुख लामाले बताइन् । ‘सबैक्षेत्रबाट पेलिँंदै आएका कृषक यहाँ पनि पेलिएका छन्,’ उनले भनिन् । उपमहानगरका प्रवक्ता सविन न्यौपानेले किसानको उत्पादन बिक्रीवितरण गर्ने ठाउँमा मन्त्रालय बस्ने कुरा स्वीकार्य हुन नसक्ने बताए ।‘किसानको भलोको लागि राज्यले करोडौं खर्चिएर बनाएको भवन हो । त्यहाँबाट किसानको उत्पादन बिक्रीवितरण मात्रै हुन्छ । मन्त्रालय यहाँबाट हट्नुपर्छ’ प्रवक्ता न्यौपानेले भने । मन्त्रालय राख्ने भन्ने विषयमा मुख्यमन्त्री कार्यालयले अर्को व्यवस्थापन गर्न पनि उनले आग्रह गरे ।
अनुमति नलिई जर्वजस्ती मन्त्रालय बस्ने कुरा प्रदेश सरकारको हकमा सुहाउँदो नभएको उनको भनाई छ । प्रवक्ता न्यौपानेले उपमहानगरले नै प्रदेश सरकारको मन्त्रालय बनाउन जग्गा दिएकाले त्यहाँ भवन बनाएर बस्न पनि सुझाए ।किसानले उत्पादन गरेको कृषिजन्य बस्तुको एकीकृत बजारका लागि निर्माण गरिएको भवनमा बागमती प्रदेशको मन्त्रालय बसेको हो । गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको थियो । विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठका लागि यो मन्त्रालय बनाइएको थियो । यसअघि मुख्यमन्त्री कार्यालय परिसरभित्रकै जिल्ला विकास समितिको पुरानो भवनमा सहकारी मन्त्रालय बस्ने तयारीमा थियो । त्यो भवनमा उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालय पहिल्यै थियो ।
कृषि मन्त्रालयका सचिव विनोद भट्टराईले सहकारी मन्त्रालयलाई कृषि थोकबजारको भवन प्रयोग गर्न अनुमति नदिएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले थोकबजारमा सहकारी मन्त्रालय बस्ने भएकाले समन्वय गर्न कृषि तथा पशुपन्त्री विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । कृषि मन्त्रालयले निर्देशनालयसँग राय माग गरेकोमा निर्देशनालयले कृषि थोकबजारको लागि निर्मित भवनमा मन्त्रालय राख्न नमिल्ने राय लेखेर पठाएको थियो । ‘यहाँबाट अन्य प्रयोजनका लागि भवन प्रयोग गर्न नमिल्ने राय लेखेर कृषि मन्त्रालय पठाएका हौं’ निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रमोदप्रसाद दाहालले भने ।
३० करोड ८७ लाख ६३ हजार रुपैयाँमा ठेक्का पाएको अनक÷माउण्टेन जेभी काठमाडौंले थोकबजार निर्माण सकेर कृषि निर्देशनालयलाई हस्तान्तरण पनि गरेको छैन । निर्देशनालयले बजार सञ्चालन र व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकालाई भवन हस्तान्तरण गर्नुपर्नेछ । प्रादेशिक कृषि थोकबजार निर्माण सकिएर हस्तान्तरणको अन्तिमचरणमा रहेको निर्देशनालयका अधिकृत दाहालले बताए । थोकबजार सञ्चालन निर्देशिकाको मस्यौदा तयार भएर स्वीकृतिको चरणमा रहेको छ ।
प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोकबजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा नगरले लिने सहमति भएको थियो । प्रदेश सरकारले ७०÷३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीनवर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो । सम्झौताको एक वर्षपछि थोकबजार निर्माण थालिएको थियो । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप रकम भुक्तानी हुँन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिए । प्राविधिक मूल्यांकनमा सडक कालोपत्रे नभएकाले निर्देशनालयले सडक निर्माणका लागि काम गर्दैछ । थोकबजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभ¥याङस्थित राप्तीपुल नजिकैको जग्गामा रहेका ५८ वटा घर÷टहरा हटाएको थियो ।
थोकबजारमा होलसेल मार्केट, रिटेल (खुद्रा) मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायतका संरचना हुने सबइन्जिनियर तिम्सिनाले बताए । बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेल मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको पनि सुविधा छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेका छन् ।