नगर अस्पताल सञ्चालनमा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सघाउने
हेटौंडा-हेटौंडा उपमहानगरपालिले सञ्चालन गरेको दुई अस्पतालका लागि जनशक्ति व्यवस्थापन गरी आधारभूत स्वास्थ्यसेवा तथा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।उपमहानगरक्षेत्रभित्र रहेका जनताको स्वास्थ्यउपचारमा सहयोग पु¥याउने उद्देश्यले हेटौंडा–१३ र १६ मा सञ्चालनमा रहेको नगर अस्पतालका लागि प्रतिष्ठानमा रहेका जनशक्ति परिचालन हुने भएका हुन् । सोमबार हेटौंडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठनका पदाधिकारी बीच भएको छलफलमा नगर अस्पताल र हेटौंडा अस्पताललाई सञ्चालन र व्यवस्थापनमा सहकार्य गर्ने सहमति भएको छ ।
सहमति अनुसार प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पतालमा भिडियो एक्सरे, सिटिस्क्यान तथा एमआरआई सेवालाई २४ सै घण्टा सञ्चालन गर्न आवश्यक सहयोग उपमहानगरपालिकाले गर्ने भएको छ ।दुई सस्था बीचको सहकार्यले नगरमा स्वास्थ्यसेवामा थप प्रभावकारीता आउने बिश्वास गरिएको छ । स्थानीय स्तरमै जनताले पाउने स्वास्थ्यउपचार र बीमासेवालाई प्रभावकारी बनाउनका लागि मत्वपूर्ण भूमिका निर्वाह गर्ने छलफलको क्रममा बताइएको थियो । प्रारम्भिक छलफल पछि सहकार्यका लागि दुईपक्षीय सम्झौता गरिने सहमति भएको छ ।
हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको छलफलमा प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवाली, रजिष्टार भीमसागर गुरागाई, डिन दुर्गाकुमारी खड्का मिश्र, हेटौंडा उपमहानगरपालिका बिज्ञसल्लाहकार डा. कृष्णप्रसाद घिताल, प्रतिष्ठानका प्राध्यापक डा. दिनेशकुमार लम्साल, उपमहानगरपालिका उपनिर्देशक भीमप्रसाद तिमल्सिना, आर्थिक विकास महाशाखाप्रमुख जगन्नाथ सापकोटा, प्रतिष्ठानका प्रशासकीय अधिकृत बिशाल लामिछाने लगायतको सहभागिता रहेको थियो ।