हेटौंडा–काठमाडौं चल्ने सुमोका दुई चालक पक्राउ

साझाकुरा
२०८१ पुष २३, मंगलवार ११:०९

हेटौंडा- हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गमा नशालुपदार्थ लिएर सवारी साधन चलाएको आरोपमा टाटा सुमोका दुईजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हेटौंडा–भैंसे सडक खण्डको भीमफेदी गाउँपालिका–१ बाघझोरामा छड्के जाँचका लागि बसेको प्रहरी टोलीले दुईजनालाई नियन्त्रणमा लिएको हो । यात्रुको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक टोली लिएर आइतबार दिनभर सवारी जाँच गरिएको थियो ।

हेटौंडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधनका ५२ जना चालकलाई लागूपदार्थ सेवन ‘लापसे’ र मादकपदार्थ सेवन ‘मापसे’ जाँच गरिएको डिएसपी अर्यालले जानकारी दिए । जाँचका क्रममा सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४६१९ नम्बरको सुमोचालक सर्लाही, बरहथवा नगरपालिका–८ बस्ने ३२ वर्षीय फेमस खड्काले लागूपदार्थ सेवन गरेको फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ७०२८ नम्बरको सुमोचालक हेटौंडा उपमहानगरपालिका–८ बस्ने ३६ वर्षीय सुजन गुरुङले मादकपदार्थ सेवन गरेको भेटिएपछि नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिए । खड्का र गुरुङलाई कानुनअनुसारको कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।मकवानपुर प्रहरीले लापसे र मापसे जाँचलाई अभियानको रुपमा अगाडि बढाउने डिएसपी अर्याल बताउँछन् । हेटौंडा–काठमाडौं जोड्ने सडक साँघुरो, उकालोओरालो र घुमाउरो भएकाले यात्रुको सुरक्षित यात्राका लागि प्रहरीले निरन्तर जाँच गर्ने डिएसपी अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*