मउवा संघ निर्वाचनः रानाभाट र अग्रवाल प्यानल बनाएर भिड्दै, कसको टिममा को ?

३ वर्षमा ८६१ मतदाता घटे, डेढ घण्टा उम्मेदवारी दर्ताको समय
साझाकुरा
२०८१ पुष २४, बुधबार ०९:४०

हेटौंडा-यतिबेला उद्योगी/व्यवसायीको छाता संगठनमा नेतृत्वका लागि आसन्न निर्वाचनले गर्मिलो बनेको छ । चोकचोकमा उम्मेदवारको फोटो, माइकिङको चर्को ध्वनीले निर्वाचनको माहोललाई तताउँदै लगेको छ ।जिल्लाका उद्योगी, व्यवसायीको छाता संस्था मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५८ औं साधारणसभा तथा अधिवेशन अन्तर्गत हुने निर्वाचनको रौनकले सबै चुनावी राजनीतिमा व्यस्त छन् । संघको यसपालीको निर्वाचनका लागि ५७ औं साधारणसभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ । विगतमा अध्यक्षले निर्वाचित सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष मनोनित गर्ने व्यवस्था थियो ।

प्रत्येक पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्थाले निर्वाचनलाई थप रोचक र गर्विलो बनाएको छ । मउवा संघमा २८ जनाको कार्यसमिति हुनेछ । अध्यक्ष, ४ उपाध्यक्ष(एसोसिएसन, वाणिज्य, उद्योग र वस्तुगत), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र एक सहकोषाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । एसोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगतर्फ ४ सदस्य र वस्तुगततर्फ १ सदस्य पद रहने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए ।२४ देखि २७ पुससम्म हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठउपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । रानाभाट र अग्रवाल दुवैले प्यानल घोषणा गरिसकेका छन् । संघमा वस्तुगत, वाणिज्य, उद्योग र एसोसिएटतर्फका उम्मेदवार रहेका छन् ।

कस्तो बन्यो रानाभाट टिम ?

अध्यक्ष उम्मेदवार रानाभाटले आइतबार प्यानल घोषणासँगै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । रानाभाट प्यानलबाट महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ), सहकोषाध्यक्षमा निलम वैद्य उम्मेद्वार बनेका छन् ।एसोसिएटतर्फ उपाध्यक्षमा उज्ज्वल चौलागाईं, सचिवमा माधव ज्ञवाली, सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुलीको उम्मेदवारी घोषणा भएको छ । उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सचिवमा रुपकराज दाहाल, सदस्यहरु जगदीश दाहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, महिला आरक्षणमा सीतादेवी भेटवाल तथा वस्तुगततर्फ उपाध्यक्षमा प्रदीप अर्याल, सचिवमा राजाराम कार्की र सदस्य कृष्णअर्याल छन् ।वाणिज्यतर्फ उपाध्यक्षमा रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई, सदस्यहरु राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), महिला आरक्षणमा निलम बजगाई देवकोटा छन् ।
अग्रवालको टिममा को–को छन् ?

अध्यक्ष पदका उम्मेदवार अग्रवालले सोमबार साँझ आफ्नो प्यानल घोषणा गरेका छन् । अग्रवालले आफ्नो टिम घोषणा कार्यक्रममा चर्चित गायक बद्री पंगेनीलाई आमन्त्रण गरी सांगीतिक प्रस्तुती दिएका थिए ।अग्रवालको प्यानलबाट महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सहकोषाध्यक्षमा राधिका सामरीपाण्डे उम्मेद्वार रहेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनालको मात्रै उम्मदवारी रहेको छ । वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली र सदस्यमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञबहादुर राई र महिला आरक्षणमा निलम पाण्डे रहेका छन् ।उद्योगतर्फ उपाध्यक्षमा रविन्द्रप्रसाद घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ उम्मेदवार तय भएको छ । वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी, सचिवमा नेत्रप्रसाद खतिवडा र सदस्यमा शम्भु पुडासैनी छन् ।

उम्मेदवारी दर्ता र मतदान कहिले ?
आज पुस २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साधारणसभा उद्घाटन गर्ने कार्यतालिका तय भएको संघले जनाएको छ । यही दिन बन्द सत्र सुरु हुनेछ । २५पुस बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने संघका कार्यकारी सचिव कार्कीले जानकारी दिए ।यही दिन साढे १० बजेबाट १२ बजेभित्र उम्मेदवारी दर्ताका लागि समय प्रदान गरिएको उनले बताए । उम्मेदवारहरु डेढ घण्टाभित्र मनोनयन दर्तास्थलमा प्रवेश गरिसक्नुपर्ने सचिव कार्कीले जनाए । उम्मेदवारको नामावली प्रकाशनलगत्तै दाबीविरोधको समय हुनेछ । २७ गते मतदान कार्य हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने सचिव कार्कीले जानकारी दिए ।मतगणनास्थल छनोट भइसकेको छैन ।
३ वर्षमा ८ सय ६१ मतदाता घटे

यसवर्षको निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउनेछन् । अघिल्लो अधिवेशनमा २ हजार ९ सय ७ जना सदस्य थिए । ३ वर्षमा ८ सय ६१ जना सदस्य घटेका छन् । मउवा संघको सदस्यता नवीकरण नगर्ने हालसम्मकै यो ठूलो संख्या रहेको सचिव कार्कीले बताए ।विधान संशोधनपछि सदस्यता नवीकरणमा फर्मको करचुक्ता प्रमाणपत्र अनिवार्य गरेपछि ठूलो संख्या घटेको हुन सक्ने उनले बताए । ‘धेरै प्रभाव करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेको नियमले पारेको जस्तो लाग्छ । तर, युवा ब्यवसायी विदेशिने क्रम बढेकाले नवीकरण गर्न छोड्नेहरु पनि छन्’ सचिव कार्कीले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*