‘नशामा गाडी चलाउने’लाई मुद्दा चलाउँदै मकवानपुर प्रहरी
हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूपदार्थ सेवन (लापसे) गरी नशामा सवारीसाधन चलाउनेलाई मुद्दा चलाउने भएको छ ।मकवानपुर प्रहरीले एकहप्तामा चारजना सवारी चालकलाई लागूऔषध ऐन–२०३३ अनुसार जिल्ला अदालत मकवानपुरमा कारबाहीका लागि मुद्दा दायर गरेको छ । प्रहरीले लागूपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने चालकलाई धमाधम मुद्दा चलाउन थालेको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी विभिन्न राजमार्गमा लापसेको परीक्षण गर्ने गरेको छ ।
पछिल्लो पटक हेटौंडा–भैंसे सडक खण्डको भीमफेदी गाउँपालिका–१ बाघझोरामा आइतबार छड्के जाँचका लागि बसेको प्रहरी टोलीले दुईजना चालकलाई नियन्त्रणमा लिएको थियो । हेटौंडा–काठमाडौं आवतजावत गर्ने सवारी साधनका ५२ जना चालकलाई लागूपदार्थ सेवन र मादकपदार्थ सेवन जाँच गरिएकोमा सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४६१९ नम्बरको सुमोचालक सर्लाही, बरहथवा नगरपालिका–८ बस्ने ३२ वर्षीय फेमस खड्का र हेटौंडा आउँदै गरेको ना १ ज ७०२८ नम्बरको सुमोचालक हेटौंडा–८ बस्ने ३६ वर्षीय सुजन गुरुङले मादकपदार्थ सेवन गरेको भेटिएपछि पक्राउ गरिएको थियो ।
लापसे परीक्षणका क्रममा प्रमाणित भएका चालकलाई कारबाही प्रक्रिया अगाडि बढाइएको मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ‘मानिसको ज्यानभन्दा ठूलो कुरो केही छैन । हामीले जनस्वास्थ्य कार्यालयसँग किटको सहयोग मागेर फरक–फरक रुटमा लापासे परीक्षण गर्दै आइरहेका छौं,’ डिएसपी अर्यालले भने । अर्यालले जिल्लामै पहिलोपटक लापसे गरी सवारी चलाउनेलाई मुद्दा चलाइएको बताए । विशेष गरी यात्रुवाहक सवारी चालकले नसालुपदार्थ सेवन गरी सवारी चलाएको चौतर्फी गुनासो बढेसँगै मकवानपुर प्रहरी र ट्राफिकले सक्रियता बढाएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख निरीक्षक केशव अधिकारीका अनुसार संघीय राजधानी प्रवेश गर्ने धेरै बाटो मकवानपुर जिल्लामा पर्नेहुँदा दुर्घटनान्यूनीकरण गर्न दैनिकजसो अभियान सञ्चालन गरिरहेको बताए । मकवानपुरबाट पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ, धरान–चतरा, कुलेखानी–सिस्नेरी,कुलेखानी–फाखेल, कुलेखानी–मातातीर्थ र चित्लाङ–चन्द्रागिरी सडक खण्ड भएर संघीय राजधानी काठमाडौं प्रवेश गर्न सकिन्छ । यस रुटमा सवारी दुर्घटना बढी हुने गरेका छन् । जसका कारण प्रहरी–ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम गर्दैआइरहेका छन् ।