बहुउद्देश्यीय सहकारी संघको साधारणसभा
हेटौंडा-मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको ११ औं वार्षिक साधारणसभा भएको छ । मंगलबार संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।साधारणसभाको अबसरमा रिद्धिसिद्धि सिमेन्ट प्रालि, सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी संघलाइ सम्मान गरिएको थियो । संघले नियमित बचतकर्तातर्फ राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट सहकारीतर्फ पालुङ बहुउद्देश्यीय सहकारी संस्था, सञ्चारकर्मीतर्फ सुनिल शिवाकोटीलाई प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरेको थियो ।
साधारणसभामा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुंगाना, हेटौंडा–९ का वडासदस्य विष्णु रानामगर, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, हेटौंडा साकोसका अध्यक्ष इन्द्रबहादुर बस्नेत, सर्वोत्तमसंचिति साकोसका अध्यक्ष रामबहादुर बस्नेत, युसेस साकोसका अध्यक्ष उत्तम शर्माढकाल, लेखा समिति संयोजक रामेश्वर अर्याल लगायतको आतिथ्यता थियो ।
जिल्लामा ५० भन्दा बढी बहुउद्देश्यीय सहकारी संस्था रहेता पनि ३२ सहकारी सक्रिय रहेको र संघमा २३ वटा संस्था आवद्ध रहेका छन् । १ लाख ४० हजार शेयरपुँजी रहेको संघमा २८ लाख ५ हजार ६४२ रुपैयाँ बचत रहेको छ । संघको जगेडाकोषमा २ लाख १ हजार ३८५ रुपैयाँ रहेको छ भने ३७ लाख ७ हजार ७१४ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष न्यौपानेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्यक्रम र योजना प्रस्तुत गरेका थिए ।