उद्योग संघ मकवानपुरको साधारणसभा
हेटौंडा-उद्योग संघ मकवानपुरको २३ औं साधारणसभा मंगलबार भएको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको समाध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुखसचेतक महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो ।कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीले सरकारले उद्योगमैत्री ऐन ल्याउन नसक्दा आफूहरुमा मारमा परेको बताएका छन् । सभालाई सम्बोधन गर्दै बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्वले काम गर्न नसकेको आरोप लगाएका छन् ।
राजनीतिक नेतृत्वले नीतिगत निर्णय मात्र गर्ने भएकोेले मुलुकको नेतृत्व कर्मचारी प्रशासनले गरिरहेको उनले बताए । बर्तौलाले सचिव तहका कर्मचारी बाधक बन्दा हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन हुन नसक्ने स्थितिमा पुगेको जिकिर गरे ।कर्मचारीले मन्त्रिपरिषद् बैठकको निर्णयलाई नै चुनौती दिन थालेको उनको भनाई छ । प्रमुख सचेतक बर्तौलाले कर्मचारी प्रशासनमा सुधार नभएकै कारण राष्ट्रिय गौरवका योजनाहरु अगाडि बढाउन समस्या परेको बताएका छन् । प्रशासनिक अप्ठ्याराकाबीच सहजता खोजेर मयुरधाप औद्योगिक क्षेत्रलाई सञ्चालन गर्नुपर्ने उनले बताए । प्रमुखसचेतक बर्तौलाले विगतमा सरकार अस्थिर हुँदा उद्योगक्षेत्र मारमा परेको बताएका छन् ।
घोषितरुपमै एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भए पनि जनता र राष्ट्रलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गर्ने उनले बताए । प्रमुखसचेतक बर्तौलाले मुलुकमा राजनीतिक स्थिरता हुने गरी संविधानका केही प्रावधानलाई संशोधन गरिने बताए । अघिल्लो सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा वर्तमान सरकारले काम गर्नुपरेकाले केही असहजता हुन गएको उल्लेख गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विन्दावासिनी कंसाकार, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष बीरेन्द्रराज पाण्डे, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठलगायतको आतिथ्यता थियो ।