बकैया कप फुटबल प्रतियोगिता आजबाट
हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा आज बुधवारबाट छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजक खेलकुद विकास समितिले जनाएको छ ।बकैया खेलकुद विकास समितिका संयोजक विजय लामाथिङले बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्ने तय भएको जानकारी दिए । उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ ।
बिहीवार वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ पुस २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको हो । यसवर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाइएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।