मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
हेटौंडा-मकवानपुरको उत्तरीभेगका दामन, पालुङ, चित्लाङ र मार्खु क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, शिशु र बालबालिकामा श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोप बढेको छ ।स्थानीय स्वास्थ्यचौकीमा दैनिक उपचार गर्न आउने बिरामीको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्यकार्यालयले जनाएको छ । हाल ती क्षेत्रका स्वास्थ्यचौकीमा दैनिक ७०देखि ८५ जनासम्म बालबालिका तथा वृद्धवृद्धाहरु चिसोबाट बिरामी भइ आउने गरेका छन् । ती क्षेत्रमा आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरी उपचारलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए ।
उनले स्वास्थ्यकर्मीलाई बिदा नलिइकन उपचारसेवामा खट्न निर्देशन दिइएको बताए । थाहा नगरपालिकाले चिसोबाट बच्न विभिन्न बस्तीमा दाउरा वितरण गरी आगोताप्ने व्यवस्था मिलाएको छ । श्वासप्रश्वास, भाइरल ज्वरोको प्रकोपबाट प्रभावित बिरामीलाई तत्काल उपचारसेवामा सहजीकरण गर्दै औषधि उपलब्ध गराएको थाहा नगरपालिका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।