जनकपुर बोल्ट्स ट्रफीसहित खुशीयाली मनाउन हेटौंडामा
हेटौंडा-पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टीम जनकपुर बोल्ट्स विजय उत्सव मनाउने क्रममा हेटौंडा आइपुगेको छ । पहिलो संस्करणको एनपीएल विजेता जनकपुर बोल्ट्सको टिम ट्रफीसहित मंगलबार हेटौंडा आएको हो । हेटौंडामा टोलीले आफ्नो शैक्षिक साझेदार हेटौंडा स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीमाझ विजयको खुशी साटेको छ । क्याप्टेन अनिल साहसँगै खेलाडीहरु ललित राजवंशी र अरनिको यादव तथा जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल र उत्कृष्ट सिग्देल हेटौंडा आइपुगेका थिए । उनीहरुले हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र नवोदय शिशुसदन माविमा ट्रफी प्रदर्शन गरेका छन् ।
विद्यार्थीले खेलाडीको हस्ताक्षर (अटोग्राफ) संकलन पनि गरेका थिए । टोलीलाई हेटौंडामा स्वागत गर्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले खेलको विकासका लागि शैक्षिक साझेदारको रुपमा कलेज जनकपुर बोल्ट्ससँग जोडिएको बताए । एनपीएलमा जनकपुर बोल्ट्सको शैक्षिक साझेदार बन्नका लागि कलेजले २५ लाख रुपैयाँ खर्चेको थियो ।
यस्तै आफ्ना पूर्वविद्यार्थी समेत रहेका बोल्ट्सका क्याप्टेन अनिल साहलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले कलेजको ब्रान्ड एम्बासडर बनाएको छ । कार्यक्रममा विद्यार्थीसँग अन्तरक्रिया गर्दै क्याप्टेन साहले उपाधि जित्दाको खुशी हेटौंडामा साट्न पाउँदा हर्षित भएको बताए ।