मउवा संघको साधारणसभा सुरु, आज उम्मेदवारी दर्ता
हेटौंडा- मकवानपुरका उद्योगी, व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभा तथा अधिवेशन बुधवारबाट सुरु भएको छ ।संघका अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षता तथा बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बागमती प्रदेशमा लगानी प्राधिकरण बनाउने घोषणा गरेका छन् । लगानीमैत्री वातावरणका लागि प्राधिकरण बनाउन प्रदेश तयार रहेको उनको भनाई थियो । ‘औद्योगिक क्षेत्र फस्टाउन लगानीमैत्री वातावरण जरुरी छ । यसलाई प्रदेश सरकारले सोचेर अगाडि बढ्छ’ उनले भने ।
सरकारले नियम, कानुन बनाउँदैमा मात्र लगानीमैत्री वातावरण नबन्ने बताउँदै मुख्यमन्त्री लामाले नियम, कानुनलाई कार्यान्वयन गर्ने पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले आधुनिक विधि, प्रविधिको सदुपयोग गरी उत्पादनमुलक उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । उद्योगीले पनि आफूहरुबीचको एकता र सहकार्यलाई जोड दिन उनको आग्रह थियो ।लामाले युवा पलायन रोक्न उत्पादनक्षेत्र फस्टाउनुपर्ने बताए । ‘अर्काले गरेको उत्पादनको व्यापारमा मात्रै केन्द्रित हुने होइन, अब हामी आफैं उत्पादनमा अग्रसर हुन जरुरी छ,’ उनले भने । ‘त्यसका लागि राज्यले पनि उद्योगीलाई आवश्यक सुविधा उपलब्ध गराएर उत्पादन वृद्धिमा जोड्नुपर्छ ।’ परनिर्भरता बढाउँदै लगेर उत्पादनमा ध्यान नदिँदा अहिले देशमा समस्या भएको लामाको दाबी छ ।
राजनीतिक नेतृत्वदेखि प्रशासन र नागरिकसम्मै सुधारको आवश्यकता रहेको उनको भनाई छ ।मकवानपुरका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २२ वर्षदेखि मकवानपुरमा बन्द अवस्थामा रहेको रोपवेको ठाउँमा वैकल्पिक यातायातको पोडवे निर्माण गर्नुपर्ने बताए । प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा पोडवे स्थापनाको सम्भाव्यता अध्ययन र लगानीको लागि चिनियाँ सरकारसँग छलफल अघि बढाएको उनको भनाई छ । प्रमुखसचेतक बर्तौलाले पोडवे निर्माण हुँदा मकवानपुरको उत्तरीक्षेत्रको पर्यटन व्यवसाय फस्टाउने बताए ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले कर्मचारीतन्त्रको कारण राजनीतिक नेतृत्वलाई जनताले नै विश्वास गर्न छाडेको बताए । सरकारले योजना बनाएर लगानी नै गरिसकेको हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रको प्रगति शुन्य भएको भन्दै उनले असन्तुष्टि पोखे । वन मन्त्रालयका सचिवको निर्णयको कारण आज सरकारको गौरवको योजना नै सुरु हुन नसक्ने स्थितिमा पुगेको उनको भनाई छ ।
सभापति सिंहले सरकारले गफ नभई काम गरेर देखाउनुपर्ने बताउ । आफू ४० दिन उर्जा राज्यमन्त्री हुँदा हेटौंडा औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गरेको सभापति सिंहको दाबी थियो । सिंहले ९ करोड खर्च गरेर लगानी सम्मेलन मार्फत् ६ अर्ब लगानी प्रतिवद्धता लिए पनि कार्यान्वयन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे । अस्थिर सरकार, कर्मचारी तन्त्र, विद्यमान ऐन कानुन र राजनीतिक दलका नेतृत्वको कमजोरीका कारण विदेशीले नेपालमा लगानी गर्न नचाहेको उनको भनाई छ ।
राज्यले सहकारी समस्यामा अनुसन्धानको नाममा पक्षपात गरिरहेको उनले आरोप लगाए ।साधारणसभामा प्रतिनिधि सभाका सांसद् राजेन्द्र केसी, विन्दावासिनी कसांकार, बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, प्रदेश सांसद् प्रेमबहादुर पुलामी, भारती पाठकलगायत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो । साधारणसभाको उद्घाटनमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रम रहेता पनि मौसमको खराबीकाकारण उपस्थिति हुन नसकेको नेपाली कांग्रेस मकवानपुरले जानकारी दिएको छ ।
आज उम्मेदवारी दर्ता
मकवानपुर उद्योग वाणिज्य संघको ५८औं साधारणसभा तथा अधिवेशनअन्तर्गत आज बिहीवारबाट निर्वाचनको कार्यक्रम सुरु हुनेछ ।संघको यसपालीको निर्वाचनका लागि ५७ औं साधारण सभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ । विगतमा अध्यक्षले निर्वाचितसदस्यमध्येबाट महासचिव,कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था थियो । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्थाले निर्वाचनलाई थप रोचक बनाएको छ ।मउवा संघमा २८ जनाको कार्यसमिति हुनेछ । अध्यक्ष, ४ उपाध्यक्ष (एसोसिएसन, वाणिज्य, उद्योग र वस्तुगत), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र एक सहकोषाध्यक्ष पद छ ।
एसोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगमा ४ सदस्य र वस्तुगतमा १ सदस्य पद हुने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए । २४ देखि २७ पुससम्म हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा उमेद्वारी दिन ५० हजार रुपैयाँ, पदाधिकारीका लागि ३० हजार रुपैयाँ र सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने प्रमुख निर्वाचन संयोजक अधिवक्ता ईश्वरराज ढकालले बताए ।
संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा छन् । रानाभाट र अग्रवाल दुवैले प्यानल घोषणा गरिसकेका छन् । संघमा वस्तुगत, वाणिज्य, उद्योग र एसोसिएटतर्फका उम्मेदवार रहेका छन् । निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउनेछन् । अघिल्लो अधिवेशनमा २ हजार ९ सय ७ जना सदस्य थिए ।